नेपाली समय Loading...२०८१ बैशाख ११ मंगलवार

सुनकोशीमा आन्तरिक स्रोत बढाउने वडालाई थप अनुदान

ओखलढुङ्गान्युज, भदौ ३ ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाले आफ्नो आन्तरिक श्रोत बृद्धि गर्ने वडालाई प्रोत्साहन स्वरुप थप अनुदान रकम दिने भएको छ । आर्थिक वर्ष २०७६/०७७ देखि आन्तरिक श्रोत वृद्धि गर्ने कम्तीमा तिनओटा वडाहरुलाई प्रोत्साहन स्वरुप थप रकम अनुदान दिने भएको हो ।

अहिले सुनकोशी गाँउपालिकामा १० वटा वडाहरु रहेका छन् । १० वडा मध्ये सबैभन्दा धेरै आन्तरिक स्रोत संकलन गर्ने वडाहरु छनौट गरि ती वडाहरुमा विशेष कार्यक्रम सञ्चालनका लागि गाउँपालिकाले अनुदान दिने नीति लिएको गाँउपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी दिनुभयो । स्थानीय सरकारलाई थप बलियो र दिगो समेत बनाउने नै पालिकाको आन्तरिक श्रोत भएकोले यो नीति अवलम्बन गरिएको पालिकाका अध्यक्ष अधिकारीको भनाई छ ।

गाउँपालिका अध्यक्ष अधिकारीका अनुसार सबै भन्दा बढि आन्तरिक स्रोत बढाउने वडाहरुले क्रमश ः प्रथम, द्वितिय र तृतिय मानेर ५ लाख, ३ लाख र २ लाख रकम प्रोत्साहन स्वरुप पाउने छन् । वडाले पाउने अनुदान रकममा थप रकम प्रोत्साहन पाउने भएका हुन् ।

सुनकोशी गाउँपालिकाले विकासमा प्रतिस्पर्धा गर्न आफ्ना वडाहरुलाई नीतिगत रुपमै आग्रह गरेको छ । आन्तरिक स्रोत वृद्धिको नीतिले वडाहरुलाई थप जिम्मेवार बनाएको सुनकोशी गाउँपालिका वडा नं. ५ गोविन्दराम तामाङले बताउनुभयो । सार्वजनिक सम्पत्ति संरक्षण र स्रोत पहिचानका कामहरु थालेको उहाँको भनाई छ । आन्तरिक श्रोतमा बृद्धिका लागि नागरिकहरुका माझसम्म कर तिर्नुपर्छ भन्ने जनचेतना फैलाउने कार्यक्रमहरु सञ्चालन गर्न लागेको पनि उहाँले बताउनुभयो ।

गाउँपालिकाले विकासमा प्रतिष्पर्धा र आन्तरिक श्रोत बढाउएर पालिकामा उत्कृष्ट हुने वडालाई प्रोत्साहन स्वरुप थप अनुदान दिने भएपछि वडाहरुले छुट्टाछुट्टै योजना निर्माण गरि कार्यान्वयनको लागि लागि परेका छन् ।