नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

११ वर्षका समीरले गरे आफ्नो जन्मदिनमा विरामीलाई फलफुल वितरण

ओखलढुङ्गान्युज, असोज २३ ओखलढुङ्गा । पछिल्लो समयमा नेपाली समाजमा विभिन्न चाडवाड सगै जन्मजयन्ती मनाउने प्रचलन नियमित जस्तै भएको छ । ८०–९० वर्ष पार गरेका बृद्ध हुन् वा जन्मिएको दोश्रो बर्ष लागेको बच्चाको होस्, जसको पनि जन्मोत्सव मनाईन्छ । अझ भनौं जन्मजयन्ती मनाउने प्रचलन पनि फेसन जस्तै भै सक्यो ।

जन्म जयन्ती मनाउदा फेसन कै रुपमा हिजो रामको जन्मोत्सबमा उसले यती खर्च गरेर पार्टी गरेको छ भन्दै अर्को दिन श्यामको जन्मोत्सव मनाउदा रामले भन्दा बढि भड्कीलो खर्च गरेर श्यामको जन्मोत्सब मनाईन्छ । जन्मोत्सवमा गरिने भोजभतेरले फजुल खर्च त बढाउछ नै, समाजमा विकृती पनि भित्र्याउदै छ । जन्मोत्सवका दिन कति पाउण्डको, कति कलरको र कति हजारको केक काट्ने देखी लिएर छिमेकीहरुलाई खुवाईने भोजमा के के खुवाईने भन्ने कुराले समेत प्राथमिकता पाउछ । जसलाई हाम्रा बच्चाहरुले नियाली रहेका हुन्छन् र आफ्नो जन्मदिनको दिनमा त्यस्तै भड्कीलो खर्चको भोजभतेरको लागि झगडा गर्छन् ।

जन्मजयन्तीको अबसरमा प्राय झगडा नै गरेर छिमेकीहरु, साथिहरु बोलाएर भोज भतेर गर्नुपर्ने बच्चाहरुको माग हुन्छ नै । तर ओखलढुङ्गामा एक बालकले आफ्नो जन्म जयन्तीको दिन अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेका छन् । ओखलढुङ्गाको सुनकोसी गाउँपालिका वडा नं. ९ साविकको कटुञ्जे गाविसको कोषहाटका समीर कार्कीले आफ्नो जन्मजयन्तीमा विरामीहरुलाई फलफुल वितरण गरेका छन् ।

समीर ओखलढुङ्गाको लालीगुराँस अंग्रजी स्कूलको कक्षा ४ मा पढ्छन् । उनी केहीदिन अघिवाट १० वर्ष पुरा गरि ११औं वर्षमा प्रबेश गरे । उनी अहिले सिद्धिचरण नगरपालिका वडा नं. १२ मा बस्छन् । उनले आफ्नो जन्मदिवसको अवसर पारेर सामुदायीक अस्पताल सोब्रुमा रहेको १ सय ३० भन्दा बढि विरामीहरुलाई फलफुल बाडे । छोराको ईच्छा अनुसार नै विरामीहरुलाई फलफुल वितरण गर्ने वातावरण मिलाईदिएको उनकी आमा सावित्रा बताउछिन् ।

समीरका बाबु हितराज कार्की र आमा सावित्रा पौडेल कार्की हुन् । आमा र बाबुको विवादले फरक रुप लिएपछि उनी अहिले आफ्नी आमा सगै बस्छन् । आफ्नो बुबा ओखलढुङ्गामा आउदा पनि आफुहरुसग भेटगर्न नआएकोमा समीरको मन दुखेको छ । नजिकिदै गरेको दशैमा बुबा पनि आमा र आफुहरुसगै बसेर दशै मनाउन पाए हुन्थ्यो भन्ने लागेको छ ।

‘अरुबेला त केही भन्नुभएन, तर मेरो जन्मदिनको दिनमा समेत एकपटक फोन समेत गर्नुभएन, त्यसैले रिस पनि उठेको छ ।’ समीरले भने, ‘दशैंमा चाही सगै बसेर रमाईलो गर्नपाए हुन्थ्यो ।’ केही मान्छेहरुले समीरलाई तेरो बुबाले अर्की आमा ल्याएको छ, तिमीहरुलाई त्यही भएर वास्ता नगरेको भनेर पनि भन्छन् । तर समीरलाई विश्वास छैन । समीर भन्छन्, ‘मेरो ममी हुनुहुन्छ, बहिनी पनि छ । मेरो बुबाले अर्की आमा बिहे किन गर्नु पर्यो ? बुबाले अर्को बिहे गर्नुभएको छैन ।’ राम्रोसग धेरै पढेर समाजसेवी बन्ने समीरको धोको छ ।

समीरले झै आफ्नो जन्मदिनको दिन हुने खर्चलाई सामाजिक काममा लगाए हाम्रा बच्चाहरुले पनि केही सिक्छन् । सकारात्मक सन्देश बच्चाहरुको दिमाखमा पर्छ नै । फजुलखर्चमा कमी हुन्छ । त्यसैले तपाई हामीले पनि साना बाबु समीरको झै सानै उमेरदेखी बच्चाहरुलाइ सामाजिक काममा लाग्न र दुःखीहरुलाई सहयोग गर्न तर्फ सहयोग गर्ने कि ?