नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

प्रबिधिको विकाससँगै काम विहिन हुलाक कार्यालय

ओखलढुङ्गायुज, असोज २३ ओखलढुङ्गा । मंगलबार अर्थात आज विश्व हुलाक दिवस । विश्वभर विविध कार्यक्रमका साथ मनाईदै छ । विश्वभर हुलाक दिवस मनाईदै गर्दा ओखलढुङ्गाका हुलाक कार्यालयहरु भने सुनसान बन्दै गएका छन् । विश्व आधुनिक युगमा प्रबेश गरिसकेको छ । तर समयानुकुल आधुनिक प्रविधिको उपयोग गर्न नसक्दा एक दशकयता जिल्ला हुलाक सहित सबै हुलाक कार्यालय काम विहीन अवस्थामा पुगेका हुन् ।

करीब एक दशक अगाडी सम्म हुलाकमा काम भ्याई नभ्याई हुन्थ्यो । चिठीका माध्यमबाट सूचना आदानप्रदान हुन्थ्यो । प्रबिधिको प्रयोग भएको थिएन । तर अहिले इन्टरनेट, मोबाइल, इमेल, वेबसाइट जस्ता प्रविधिको विकासले हुलाक कार्यालय सुनसान बनेको हो । सञ्चार–प्रविधिलाई पछ्याउन नसकेपछि अधिकांश हुलाक कार्यालय कामविहीन बन्दै गएको जिल्ला हुलाक कार्यालय ओखलढुङ्गाका जिल्ला हुलाक अधिकृत दिपक प्रसाद खतिवडाले बताउनु भयो ।

अझैसम्म पनि धेरैजसो हुलाकी कार्यालयहरु पुरानै ढाँचामा चल्दै आएका कारण सेवाग्राहीको विश्वास पनि घट्दै गएको जिल्ला हुलाक अधिकृत खतिवडाको स्विकारोक्ति छ । अतिवडा भन्नुहुन्छ, ‘अहिले कसले चिठी लेख्छ र ? सबै काम सेकेन्डभित्र हुने भएपछि सूचना पुग्न लामो समय लाग्ने हुलाकी अड्डामा सर्वसाधारण जाने कुरै भएन ।’ सरकारी कार्यालयका महत्वपुर्ण केही कामहरु भने अझैपनि हुलाकवाट नै हुने भएकोले सामान्य चिठी पत्र र हुलाक टिकट विक्रीको भन्दा अरु काम जिल्ला हुलाकमा नभएको खतिवडाको भनाई छ ।

प्रविधिको युगमा पनि अझै आफ्ना सेवालाई विविधीकरण गर्नुको सट्टा पुरानै शैलीबाट झोलामा चिठी बोकेर जनतालाई सेवा पु¥याउने कार्य मात्रै हुलाकवाट भै रहेको छ । प्रबिधीले देशविदेशमा रहेका आफन्तहरु सग सेकेण्ड भित्र कुराकानी हुन्छ । तर हुलाकवाट पठाएको चिठिपत्र पुग्न कतिवर्ष लाग्ने हो टुङ्गो हुदैन । १० वर्ष अन्तरालमा संचार क्षेत्रको तीव्र विकास भएकोले सञ्चार क्षेत्रमा प्रविधि भित्र्याउन नसक्दा हुलाक सेवाप्रतिको दृष्टिकोण नै गलत हुँदै गएको सेवाग्राहीहरु वताउँछन ।

जिल्ला अधिकृत खतिवडाका अनुसार हाल सरकारी चिठी, व्यक्तिगत पार्सल, सामान्य सामान, वस्तु र पत्रपत्रिका आदान प्रदान बाहेक अन्य सेवा सञ्चालनमा छैनन् । विगतमा सेवाग्राहीको भीड लाग्ने हुलाक पछिल्लो समय सुनसान हुदै गएको छ । ओखलढुङ्गामा साबिकका ११ वटै ईलाकामा ईलाका हुलाक तथा ४४ वटा अतिरीक्त हुलाक र जिल्ला हुलाक कार्यालय गरी ५६ वटा हुलाक कार्यालयहरु रहेका छन् ।