नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा पनि धुमधामका साथ कृष्ण जन्माष्टमी पर्व

ओखलढुङ्गान्युज, भदौ १८ ओखलढुङ्गा । देशैभर जस्तो ओखलढुङ्गाका विभिन्न स्थानहरुमा पनि भाद्र कृष्ण जन्माष्टमी धुमधामका साथ मनाईएको छ । द्वापर युगमा भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाईंदै आइएको छ । यही क्रममा ओखलढुङ्गामा विभिन्न स्थानहरुमा रहेको कृष्ण मन्दिरहरुमा भक्तजनहरुको विहानै देखी घुईचो लागेको थियो ।

कृष्ण जन्माष्टमी पर्वको अवसरमा ओखलढुङ्गाको विलन्दुमा पनि कृष्ण मन्दिरमा श्रद्धालु भक्तजनहरुको विहानै देखी भिड लागेको थियो । कृष्ण जन्माष्टमी पर्वलाई लक्षित गरेर साविकको विलन्दु गाविस वडा नं. ८ का आमा समूहको अग्रसरतामा निर्माण कार्य सम्पन्न भएको उक्त मन्दिरमा आईतवार भव्य मेला पनि लागेको छ ।

यहाँका महिला दिदीबहिनीहरुलाई लक्षित गरे आमा समूहको पहलमा आफुहरुले मन्दिरको निर्माण गरेको स्थानीय सुनिता श्रेष्ठले बताउनुभयो । श्रेष्ठले भन्नुभयो, ‘प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको दिन महिलाहरु ब्रत बस्ने तर पुजाआजा गर्न कि त घरवाट टाढा जानुपर्ने नत्र कृष्णको फोटो टासेर पुजा गर्नुपर्ने बाध्यता थियो । ब्रत बसेको दिन विषेश गरि महिलाहरुले पुजालगाउने गर्दछन् । तर ब्राम्हणले नभ्याउदा पुजालगाउने मन भएकाहरुले पनि मन खुम्च्याएर बस्नुपर्दथ्यो । यो मन्दिर बनेदेखी मन्दिरमा नै महिलाहरु जम्मा भएर सामुहिक पूजा लगाउने चलन छ ।’

‘कृष्ण जन्माष्टमीमा ब्रत बसेपछि देउताको दर्शन त गर्न जानुपर्यो । तर गाउँमा नै मन्दिर थिएन । तर हामीले आमा समूहको पहलमा नै मन्दिर बनाएपछि भने सजिलो भएको छ ।’ आमा समूकी सदस्य जानुका श्रेष्ठले भन्नुभयो, ‘ब्रत बसेको दिन दिउसो सामूहिक पूजा लगाउछौं । अनि साझपरेपछि भजन किर्तन गर्छौ । नजिकै मन्दिर बनाएपछि सजिलो भएको छ ।’

उता आमा समूहको पहलमा गाउँमा नै मन्दिर बनेपछि घरको समेत काम गर्न भ्याएको स्थानीय सीता मगर बताउनुहुन्छ । ब्रत बसेपछि देउताको दर्शन गर्नै पर्यो । गाउँमा मन्दिर थिएन । मन्दिर भएको ठाउँसम्म पुगेर आउदा समस्या हुने गरेको थियो । तर अहिले समस्या हटेको मगरको भनाईछ ।

ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ । मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।

अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ । मानव जातिलाई सुरक्षित पारी धर्म रक्षाका लागि धर्तीमा अवतरण गरेका कृष्णले कंस, जरासन्ध र शिशुपाल आदि दानवी प्रवृत्तिको अन्त्य गरेको मानिन्छ ।

कृष्ण अष्टिमीको दिन मानिसहरु व्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् । यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास छ ।