पेट्रोलियम पद्धार्थको मूल्यमा भारि बृद्धि
ओखलढुङ्गान्युज, चैत २७ काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा आयल निगमलाई ठूलो घाटा भइरहेकोले नयाँ मूल्य समायोजन गरिएको भन्दै पेट्रोलियम पदार्थमा बिहिबार रातिबाट भारी वृद्धि गरिएको हो ।
आयल निगमले बिहिबार साँझ एक विज्ञप्ति प्रकाशन गर्दै पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरिएको जनाएको हो । निगमले जारी गरेको विज्ञप्तिअनुसार शुक्रबार बिहानैबाट लागू हुने गरी पेट्रोलमा प्रति लिटर १७ रुपैयाँ र डिजेल/मट्टितेलमा २५ रुपैयाँ वृद्धि गरिएको छ । त्यस्तै एल.पि. ग्यासमा प्रति सिलिण्डर रु.१०० र हवाई इन्धन आन्तरिक तर्फ ६ रुपैयाँले वृद्धि गरिएको छ निगमले जनाएको छ ।
अब शुक्रबार बिहानैबाट पेट्रोलको मूल्य विभिन्न क्षेत्रमा २१६ रुपैयाँ ५० पैसादेखि २१९ रुपैयाँसम्म पुगेको छ भने डिजेल/मट्टितेल २०४ रुपैयाँ ५० पैसादेखि २०७ रुपैयाँसम्म पुगेको छ । अब १४.२ केजी ग्यासको सिलिन्डरको मूल्य २०१० रुपैयाँ पुगेको छ । मूल्य वृद्धि गरे पनि निगमलाई अझै पाक्षिक रूपमा करिब ७ अर्ब ८१ करोड रुपैयाँ घाटा हुने निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । निगमले निरन्तर घाटा बढेमा इन्धन आपूर्ति प्रभावित हुन सक्ने भन्दै उपभोक्तालाई मितव्ययी रूपमा पेट्रोलियम पदार्थ प्रयोग गर्न आग्रह गरेको छ ।
