नेपाली समय Loading...२०८२ चैत्र २६ बिहीबार

भेडेटारमा जम्मा भए ९ जिल्लाका पत्रकार

कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली

ओखलढुङ्गान्युज, चैत २६ भेडेटार । धनकुटा जिल्लाको भेडेटारमा कोशी प्रदेशका नौ जिल्लाका पत्रकारहरू भेला भएका छन् । कोशी प्रदेश सरकारले घोषणा गरेको कोशी पर्यटन वर्ष २०८२ लाई सफल पार्नका लागि कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलहरूको प्रचारप्रसारको बारेमा जानकारी हासिल गर्ने उद्देश्यका साथ पर्यटन पत्रकारिता तालिममा पत्रकारहरु भेला भएका हुन् । 

कोशी प्रदेशका पत्रकारहरूका लागि आयोजना गरिएको पर्यटन पत्रकारिता तालिमको कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुलीले समुद्घाटन गरेका हुन् । तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री पराजुलीले वन तथा पर्यटकीय क्षेत्रको बिकासमा आफुले काम गर्ने बताए ।

साँघुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राई

सम्बोधनका क्रममा मन्त्री पराजुलीले पर्यटकीय स्थलको थप पहिचान गर्दै प्रदेश सरकारले कार्यक्रम बनाएर पर्यटन क्षेत्रको बिकास गर्ने बताए । पर्यटकीय क्षेत्रलाई गौरवको योजना बनाएर अगाडि बढ्न सकियो भने धेरै काम गर्न सकिने बताउँदै मन्त्री पराजुलीले त्यसका लागि काम गर्ने योजना रहेको बताए । प्रदेश सरकारले कोशी प्रदेशमा पर्यटकीय स्थलहरुको एउटा सपना देखेको भन्दै त्यो सपना अनुसार प्रदेश सरकारले काम गर्ने बताए ।मन्त्री पराजुलीले कोशी प्रदेशको पर्यटकीय क्षेत्रको बिकासमा प्रदेश सरकाले निजी लगानीसँग समन्वय गरेर अगाडि बढ्ने समेत बताए । 

पर्यटन कार्यालय धरान प्रमुख भीषण राई

उद्घाटन सत्रको कार्यक्रममा पर्यटन कार्यालय धरानका प्रमुख भीषण राईले पत्रकारिता भनेको समाचार संप्रेषण गर्ने मात्र नभई प्रश्न गर्ने पनि रहेको बताए । पर्यटकीय स्थलहरूको प्रचारप्रसारको लागि आगामी दिनहरुमा मोबाइल पत्रकारितालाई प्रभावकारी बनाउँदै लैजानु पर्ने राईको भनाई थियो । प्रमुख राईले पत्रकारितालाई पर्यटनसँग जोडेर कलम चलाउन आग्रह गर्दै पर्यटन कार्यालयको तर्फबाट साथ सहयोग रहने बताए ।  

त्यस्तै कार्यक्रममा साँघुरीगढी गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राइले स्थानीय सरकारको तर्फबाट आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि सबै पक्षसँग सहकार्य गरिरहेको बताए । आफ्नो पालिकाको आन्तरिक आम्दानीको मुख्य श्रोत नै पर्यटन रहेको बताउदै अध्यक्ष रुम्दालीले पर्यटकीय स्थलहरूको विकास र प्रवर्द्धनका लागि आगामी दिनमा समेत सबै पक्षहरुसँग सहकार्य गरेरै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

कोशी प्रदेशमा रहेका विभिन्न पर्यटकीय स्थलहरूको जानकारी तथा तिनीहरूको प्रचारप्रसारमा पत्रकारहरूले कसरी भूमिका निर्वाह गर्न सक्छन् भन्ने बारेमा तालिमको आयोजना गरिएको हो । बुधबारदेखि धनकुटाको भेडेटारमा सुरु भएको तालिम पर्यटन पत्रकारिता तालिम पर्यटन कार्यालय धरानको सहकार्य र नेपाल पत्रकार महासंघ कोशी प्रदेश बिराटनगरको आयोजनामा सुरु भएको हो । तालिम आगामी चैत २९ गते सम्म सञ्चालन हुनेछ ।