ओखलढुङ्गाको रामपुर-रुपाटार सडक खण्ड बन्द
ओखलढुङ्गान्युज, चैत २४ प्राप्चा । ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिकामा पर्ने रामपुर-रुपाटार सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्ड सोमबारबाट करिब १५ दिनको लागि अवरुद्ध भएको हो ।
स्तरोन्नति निर्माण र कार्यसम्पादनमा आधारित रामपुर प्राप्चा श्रीचौर फलाटे खिजीकाती रावादोलु भुसिंगा सडक निर्माण परियोजना अन्तर्गत रामपुर रुपाटार सडक खण्डमा पिच कार्यको लागि सडकमा बेस पेभमेन्ट सम्बन्धी कार्य सञ्चालन गर्ने भन्दै आयोजनाले सडक बन्द गरेको हो । बेस पेभमेन्ट कार्य गर्दा सडकमा गाडी आवतजावत गर्दा समस्या हुने भन्दै १५ दिनका लागि परियोजनाले यातायात बन्द गरेको हो ।
परियोजनाले एक सूचना प्रकाशित गर्दै उक्त सडक खण्ड चैत २३ गतेदेखि २०८३ वैशाख ७ गतेसम्म पूर्णरुपमा अवरुद्ध हुने जनाएको छ । बेस पेभमेन्ट कार्य गर्दा सडक अवरुद्ध हुँने र सवारी आवागमनलाई समस्या हुनसक्ने भन्दै वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध समेत गरेको छ । वैकल्पिक बाटोको लागि तत्काल उक्त सडक खण्डमा पर्ने मोलुङ जलविद्युतको ड्याम साइडको सडकलाई सञ्चालनमा ल्याएको छ ।
सडक अवरुद्ध हुँदा ओखलढुङ्गाबाट सुनकोशी गाउँपालिकाको कटुन्जे, कोषहाट तथा चम्पादेवी गाउँपालिकाको फेदीगुठ, फूलबारी, बिलन्दु घोराखोरीतर्फ जाने र आउने सवारी साधन तथा यात्रुहरू समस्यामा पर्नेछन् ।

