ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बोलेरो दुर्घटना,चालक घाइते

ओखलढुङ्गान्युज, चैत १९ यसम । ओखलढुङ्गा जिल्लाको फुलबारीबाट आज बिहान काठमाडौँतर्फ जाँदै गरेको बोलेरो लिखु गाउँपालिका २ सिंहदेवीमा दुर्घटना भएको छ । आज बिहान चम्पादेवी गाउँपालिका वडा नम्बर ७ फुलबारीबाट ढुङ्गा र काठ बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा १५ च ६३३९ नम्बरको सिङ्गल क्याप बोलेर लिखु गाउँपालिका वडा नम्बर २ सिंहदेवीको हातीढुंगा नजिकै विहिवार विहान १० बजेतिर दुर्घटनामा परेको हो ।
घाइते हुनेमा बोलेरका चालक चम्पादेवी गाउँपालिका ७ बस्ने अर्जुन कार्की रहेका छन् । बोलेरोमा चालक सहित चारजना रहेको भए पनि अन्यको अवस्था सामान्य रहेको प्रहरी चौकी यसमले जनाएको छ । दुर्घटनामा परेका घाइतेलाई तत्काल उद्धार गरी साँगुटारमा रहेको स्थानीय क्लिनिकमा उपचार गरिएको छ । उपचार पश्चात घाइते चालकको अवस्था सामान्य रहेको प्रहरी चौकी यसमले जनाएको छ । बोलेरमा सवार अन्य सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
कार्कीले बोलेरो रिजर्भमा घर छाउने ढुङ्गा तथा काठ बोकेर काठमाडौँतर्फ जाँदै थिए । गाडी काठमाडौँ जाने क्रममा आज बिहानै चम्पादेवी गाउँपालिका वडा नम्बर ९ को धुसेनी भन्ने ठाउँमा समेत ब्रेकमा समस्या आउदा गाडीको पछाडिपट्टिको भागमा क्षति पुगेको थियो । सामान्य मर्मत पश्चात पुन गाडी काठमाडौँ जाने क्रममा सिंहदेवीको हातीढुङ्गा भन्ने ठाउँमा पुगे पश्चात ब्रेक फेल भएको थियो ।
गाडीको ब्रेक फेल भएपछि चालकले सुरक्षाको लागि गाडीलाई भित्तामा ठोक्काएका थिए । गाडी भित्तामा ठोकिए पश्चात सडकमा पल्टिएको थियो । दुर्घटनास्थलबाट गाडीलाई हटाउने प्रयास भइरहेको प्रहरी चौकी यसमले जनाएको छ । चालकले चलाखीपूर्ण सावधानी अपनाउँदा ठूलो मानवीय क्षति हुनबाट भने जोगिएको छ ।
