नेपाली समय Loading...२०८२ चैत्र १७ मंगलवार

लिखुका एक पुरुष हाइड्रोपावरको ड्याममा मृत फेला 

ओखलढुङ्गान्युज, चैत १७ रामेछाप । ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाका एक पुरुष रामेछापको खिम्तीमा रहेको हिमाल हाइड्रोपावरको पानी जमाउने ड्याममा डुबेर तैरीरहेको मृत अवस्थामा फेला परेका छन् । मृत अवस्थामा फेला पर्नेमा ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं २ सिंहदेवीका अन्दाजी वर्ष ५५ का लोकबहादुर बोगटी रहेका छन् ।

बोगटी विगत झन्डै ३० वर्षभन्दा बढी समयदेखि उक्त हिमाल हाइड्रोपावरमा ड्राइभर (हलुका सवारीचालक) पदमा कार्यरत रहेका थिए । हाइड्रोपावरमा कार्यरत बोगटी मङ्गलबार बिहान हाइड्रोपावरको पानी जमाउने ड्याममा डुबेर मृत अवस्थामा फेला परेका हुन् । बोगटी मृत भेटिए पश्चात कार्यालयले परिवारलाई खबर गरेको थियो । 

मृतक बोगटीका छोराछोरी हाल अस्ट्रेलिया र अमेरिकामा रहेका छन् । हाइड्रोपावरका चालक बोगटी मृत भेटिए पश्चात उनको आफन्तको उपस्थितिमा हाइड्रोपावरले सिसी क्यामेरा चेक गरेको थियो । cc camera चेक गर्दा हाइड्रोपावरको गेट नजिकै बाटो निर्माण हुँदै गरेको र निर्माणाधीन अवस्थामा रहेको उक्त सडकबाट बोगटी ड्याममा झरेको देखिएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

मृतक बोगटीका परिवारका कोही पनि सदस्यहरू हाल सिंहदेवीमा नरहेको र छोराछोरी पनि विदेशमै रहेका कारण बोगटीको सबलाई अफिसले नै पोस्टमार्टमका लागि काठमाडौँ पठाएको छ । उनको भोलि बुधबार शिक्षण अस्पताल काठमाडौँमा पोस्टमार्टम गरिने समेत पारिवारिक स्रोतले जानकारी दिएको छ ।