नेपाली समय Loading...२०८२ चैत्र १४ शनिबार

मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधि नर्मदेश्वर माविलाई 

ओखलढुङ्गान्युज, चैत १४ गाम्नाङटार । लिखु गाउँपालिकाको गाम्नाङटारमा सम्पन्न सामुदायिक विद्यालय स्तरीय मैत्रीपूर्ण शिक्षक भलिबल प्रतियोगिताको उपाधि नर्मदेश्वर मावि चप्लेटी खिजिदेम्बाले जितेको छ । प्रतियोगितामा उपाधि जित्दै नर्मदेश्वर माविले नगद रु २० हजारका साथमा ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।

बिजेता : नर्मदेश्वर मावि चप्लेटी, रगनी

शनिबार दिउँसो ग्रामोदय युगकवि सिद्धिचरण माविको खेलमैदानमा सम्पन्न भएको प्रतियोगितामा सहिद स्मृति आधारभूत विद्यालय लिखु तामाकोशी गाउँपालिका २ सैपु रामेछापलाई २–० को सोझो सेटमा पराजित गर्दै नर्मदेश्वर माविले उपाधि जितेको हो । नर्मदेश्वरसँग पराजित भएको शहिद स्मृतिले उपविजेता हुँदै नगद रु १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता : शहिद स्मृति आधारभूत विद्यालय, शैपु

शनिबार दिउँसो सम्पन्न भएको प्रतियोगितामा लिखु गाउँपालिकाको लेती मावि पोकली भने तेस्रो बनेको छ । लेती माविले आयोजक ग्रामोदय युगकवि सिद्धिचरण मावि गाम्नाङटारलाई पराजित गर्दै तेस्रो बनेको हो । तेस्रो बनेको लेती माविले पनि नगद रु १० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा लेतीसँग पराजित भएको ग्रामोदय युगकवि सिद्धिचरण माविले भने सान्त्वना रहँदै नगद रु ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्न सफल भयो ।

प्रतियोगिताको अवधिभर नर्मदेश्वर मावि चप्लेटीका शान्तराज बस्नेत उत्कृष्ट खेलाडी घोषित भए । त्यस्तै लेती मावि पोकलीका प्रमोद भट्टराई उत्कृष्ट ब्लकर, लेती मावि पोकलीका राजेन्द्र खत्री उत्कृष्ट स्पाइकर, नर्मदेश्वर मावि चप्लेटीका लालबहादुर सिंह उत्कृष्ट सेटर घोषित भए । त्यसैगरी सहिद स्मृति आधारभूत विद्यालय सैपुका टेकबहादुर तामाङ उत्कृष्ट सर्भर, ग्रामोदय युग कवि सिद्धिचरण माविका तेजबहादुर मगर उत्कृष्ट डिफेन्डर तथा नर्मदेश्वर मावि चप्लेटीका सन्तबहादुर मगर उत्कृष्ट कोच घोषित भए । विधागत तर्फ उत्कृष्ट घोषित खेलाडी तथा टिमले मेडल सहित जनै नगद रु ५०० प्राप्त गरेका थिए ‌।

हिजो शुक्रबारदेखि सुरु भएको प्रतियोगिता ग्रामोदय युगकवि सिद्धिचरण माविको खेलमैदानमा सम्पन्न भएको हो । प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई समापन सत्र कार्यक्रमका अतिथि ग्रामोदय युगकवि सिद्धिचरण क्याम्पसका प्रमुख प्रेमबहादुर बस्नेत लगायत अतिथिहरूले नगद, ट्रफी, मेडल तथा प्रमाणपत्र वितरण गरेका थिए । प्रतियोगिता ग्रामोदय युगकवि सिद्धिचरण मावि गामनाङटारले आयोजना गरेको हो ‌।