विद्यालयमा कालोझण्डा गाड्ने शिक्षिकालाई कारबाही गर्ने पालिकाको चेतावनी
ओखलढुङ्गान्युज, चैत १२ यसम । सामुदायिक विद्यालयमा अवांछित गतिविधि सञ्चालन गर्ने जिम्मेवार शिक्षिकालाइ कार्बाही गर्ने लिखु गाउँपालिका कार्यालय यसमले चेतावनी दिएको छ । केहि दिन अगाडी लिखु गाउँपालिका वडा नं. ६ मा रहेको श्री ग्रामोदय युगकवि सिद्धिचरण माविमा कार्यरत एक शिक्षिकाले विद्यालयका कालो झण्डा गाडेको विषयमा गाउँपालिकाले आज विहिबार एक विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएको हो ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गत चैत्र १० गते ग्रामोदय युगकवि सिद्धिचरण माविमा विद्यालयका शिक्षिका नेत्रकुमारी पौडेलले सामाजिक सञ्जालमा १३ बुँदे माग राख्दै विद्यालयमा कालो झण्डा गाडिएको विषयमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ । विद्यालय जस्तो मर्यादित र शान्ति क्षेत्रमा । विरोध प्रदर्शनका नाममा गरिएको यस्तो क्रियाकलापले विद्यार्थीको । शैक्षिक गतिविधिमा प्रतिकूल असर पर्ने हाम्रो ठम्याई छ। प्रश्न उठाउने र समाधान खोज्ने निश्चित कानुनी प्रक्रिया र निकाय हुँदाहुँदै विद्यालय जस्तो पवित्र संस्थामा यस्तो कार्य गर्नु कानुनी कारबाहीको दायरामा पर्छ ।”
शिक्षिका पौडेलले उठाएको १३ बुँदाप्रति इङ्कित गर्दै गाउँपालिकाले पौडेललाइ प्रधानाध्यापक पदबाट हटाउनुको कारण समेत उल्लेख गरेको छ । गाउँपालिकाले विज्ञप्ति मार्फत भनेको छ, “गाउँपालिकाले विद्यालयको कार्यसम्पादनका लागि एक कार्यसम्झौता पौडेलसँग गरेको थियो । तोकिएको अवधिमा पौडेलले कार्य सम्झौता सन्तोषपूर्ण रूपमा सम्पन्न नगरे पश्चात गाउँपालिकाले स्पष्टीकरण सोधेको थियो । पौडेलले दिएको स्पष्टीकरण पनि चित्त नबुझ्दो भएपश्चात लिखु गाउँपालिकाको स्थानीय शिक्षा नियमावली २०७५ को नियम ४९ (५) ग अनुसार विद्यालयको प्रधानाध्यापक पदबाट हटाएको हो ।” पौडेलले उठाएको विद्यालयको मुद्दाको विषयमा भने उक्त विषय गाउँपालिकाको न्यायीक कार्यक्षेत्र भन्दा बाहिरको रहेको तथा अख्तियारले उक्त मुद्दा अध्ययन गरिरहेकोले कानुनी फैसला नभएसम्म गाउँपालिकाले केही गर्न नसक्ने समेत बताएको छ ।
निवर्तमान प्रधानाध्यापक समेत रहेकी पौडेल युगकवि सिद्धिचरण माविमा नमुना विद्यालय कार्यक्रमका लागि प्रदेश सरकारबाट प्राप्त भएको ५० लाख अनुदान अनियमितता प्रकरणमा मुछिएकी थिइन् । अनियमितता गरेको भन्ने मुद्दाको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ। उक्त अनियमितताको विषयमा ओखलढुङ्गान्युज डटकमले समाचार प्रकाशन गरेको थियो ।
गाउँपालिकाले जारी गरेको विज्ञप्ति :-

