यसम मावि यसममा कैलाश खत्रीको प्यानलै निर्वाचित

ओखलढुङ्गान्युज, चैत १२ यसम । आज (विहीबार) लिखु गाउँपालिका ४ यसममा भएको यसम मावि यसमको विद्यालय व्यवस्थापन समितिको चुनावमा अध्यक्ष पदमा कैलाश खत्री निर्वाचित भएका छन् । निर्वाचनमा कैलाश खत्री प्रचण्ड बहुमत प्राप्त गर्दै आफ्नो प्यानलै सहित निर्वाचित भएका हुन् ।
विद्यालयमा रहेका १५३ जना अभिभावकमध्ये आजको निर्वाचनमा १४८ जनाले मतदानमा सहभागिता जनाएका थिए । खसेको मतमध्ये खत्रीले ९१ मत प्राप्त गरे भने अर्का उम्मेदवार निवर्तमान अध्यक्ष विष्णुकुमार कार्कीले जम्मा ५२ मत मात्र प्राप्त गरे । ५ मत भने बदर भएको छ। खत्रीसँगै खत्रीको टिममा रहेका अन्य सदस्य पदमा इन्द्र कुमारी थापा, सरिता काफ्ले र तल बहादुर कार्की पनि निर्वाचित भएका छन् ।
विद्यालय व्यवस्थापन समितिको निर्वाचन गर्नुपर्दा चारजना निर्वाचित गर्नुपर्ने र निर्वाचित मध्येबाट वा निर्वाचित प्रतिनिधिले मनोनित गरेका अर्का व्यक्ति अध्यक्ष पदमा छनोट गर्नुपर्ने संघीय शिक्षा ऐनमा व्यवस्था रहेको छ । तर लिखु गाउँपालिकाले आफ्नो छुट्टै ऐन बनाउँदै निर्वाचनको माध्यमबाटै अध्यक्ष पद छनोट गर्ने व्यवस्था रहेको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कार्कीले बताए । गाउँपालिकाको सोही ऐनलाई टेक्दै यसम माध्यमिक विद्यालय यसममा आज विद्यालय व्यवस्थापन समितिको अध्यक्ष तथा अन्य तीनजना सदस्यहरूको निर्वाचन भएको हो ।
अभिभावकहरूले भने निर्वाचनको माध्यमबाट अध्यक्ष पदको छनोट गर्नु दुखद भएको बताएका छन् । विद्यालय जस्तो पवित्र स्थानमा राजनीतिक घुसेर निर्वाचन गर्दै दुई पक्षमा विभाजित हुँदा विद्यालयको समग्र शैक्षिक गुणस्तर तथा उन्नतिमा समेत बाधा पुग्न सक्ने अभिभावकहरुले चिन्ता व्यक्त गरेका छन् । आज भएको निर्वाचनमा पराजित भएका कार्की विगत तीन कार्यकाल देखी निरन्तर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष रहँदै आएका थिए ।
