गाम्नाङमा मास्टरको भलिबल प्रतियोगिता: विजेतालाई ट्रफी सहित २० हजार
ओखलढुङ्गान्युज, चैत ९ यसम । जिल्लाको लिखु गाउँपालिकामा चैते दसैँको अबसर पारेर शिक्षकहरुको भलिबल प्रतियोगिता हुने भएको छ । चैत दशैंको अवसर पारेर लिखु गाउँपालिका ६ मा रहेको ग्रामोदय युगकवि सिद्धिचरण माविको आयोजनामा आगामी चैत १३ र १४ गते खुला सामुदायिक विद्यालय स्तरीय शिक्षक भलिबल प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिताका विजेता टीमले नगद रु २० हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टीमले नगद रु १५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टिमले नगद रु १० हजारका साथमा हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले रु १०००, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो तथा उत्कृष्ट टीमकोचलाइ जनही नगद रु ५०० प्रदान गरिने आयोजक विद्यालयका प्रधानाध्यापक पदम रोकाले जानकारी दिए ।
प्रतियोगितामा माविका शिक्षक तथा प्राविका शिक्षकहरु सहभागी हुन सक्ने तथा माविका शिक्षकको टीम नपुगेको अबस्थामा सोही वडाका अर्को प्राविका शिक्षकहरु सहभागी हुन सक्नेछन् । तर एउटा माविको शिक्षकको टीममा अर्को माविका शिक्षकहरुले भने सहभागिता जनाउन नपाउने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुन शिक्षकको नियुक्ति पत्र र शिक्षकको परिचय खुल्ने परिचयपत्र अनिवार्य गरिएको पनि आयोजक विद्यालयका प्रधानाध्यापक रोकाले जानकारी दिए ।
