नेपाली समय Loading...२०८२ चैत्र ६ शुक्रबार

आजदेखि आइतबारसम्म हावाहुरी सहित चट्याङ : सतर्कता अपनाउन आग्रह 

ओखलढुङ्गान्युज, चैत ६ काठमाडौँ । आज शुक्रबारबाट तीन दिन अर्थात् आइतबारसम्म विशेष सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । आजबाट तीन दिनसम्म देशका विभिन्न भागहरूमा भारी वर्षात हिमपात, चट्याङ तथा ठूलो हावाहुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

आजबाट पहिलो दिन कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली जिल्लाहरूमा भारी वर्षा तथा हिमपात हुने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जानकारी गराएको छ । त्यो सँगसँगै देशको धेरै ठाउँमा चट्याङका साथमा हावाहुरी समेत चल्ने महाशाखाले एक सूचना जारी गर्दै जनाएको हो । 

शुक्रबारबाट सुरुवात हुने उक्त वितण्डता शुक्रबार साँझबाटै शनिबारसम्म लुम्बिनी प्रदेश लगायत तराईका अधिकांश जिल्लाहरूमा सुरुवात हुने र आइतबार कोशी प्रदेशको विराटनगर धनकुटा र धरान आसपासका क्षेत्रहरूमा आइपुग्ने महाशाखाले जनाएको छ । उक्त चट्याङ तथा हावाहुरी प्रतिघण्टा ११९ किलोमिटरसम्मको रहने सम्भावना भएकोले यसको झड्का देशका अन्य जिल्लाहरूमा समेत पर्न सक्ने भएकोले आइतबारसम्ममा विशेष सावधानी अपनाउन महाशाखाले जनाएको छ ।

यो अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन तथा यात्रा नगर्न समेत महाशाखाले अनुरोध गरेको छ । यो बेला प्रि मनसुनको समेत सुरुवात हुने समय रहेकोले हावाहुरीका कारण रुख ढल्ने, विद्युतका पोल ढल्ने तथा तार चुडिने कमजोर संरचनाका छानाहरू उडाउने, विद्युत तथा सञ्चारको आपूर्ति समेत बन्द हुनसक्ने सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो ।

हावा हुरी तथा चट्याङ परेको बेलामा भागदौड नगर्न, विद्युतको पोल वा ठूलो रुखको फेदमुनि नबस्न, चेतावनी जारी गरिएका क्षेत्रहरूमा अत्यावश्यक नपरि बाहिर ननिस्कन, आफ्नो घरको झ्यालढोका राम्ररी बन्द गर्न, आगोका स्रोतहरू बन्द गरेर रहन समेत महाशाखाले अनुरोध गरेको छ । यस समयमा विद्युतीय सामग्री नछुन, टेलिफोन तथा विद्युतको पोल, तारमुनि नबस्न, लत्रिएका तारहरू नछुन समेत महाशाखाले अनुरोध गरेको छ ।