पलापुमा एक पुरुषको शब फेला
ओखलढुङ्गान्युज, चैत ५ ओखलढुङ्गा । जिल्लाको चम्पादेवी गाउँपालिका १ पलापुमा बुधबार दिउँसो एक पुरुषको सब फेला परेको छ । चम्पादेवी गाउँपालिका १ पलापुको भूगोलमा पर्ने सुनकोशी नदीको बीच भागमा ढुङ्गामा अड्कि घोप्टोपरि मृत रहेको अवस्थामा एक पुरुषको शब फेला परेको हो ।
सुनकोशी नदीको बीचमा शव फेला परेको जानकारी स्थानीयले गराउनसाथ घटनास्थलमा प्रहरी चौकी पलापुको टिम पुगेको थियो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक सहितको टिम समेत घटनास्थलमा पुगेको थियो ।

घटनास्थलमा पुगी हेर्दा शब रामेछाप जिल्ला रामेछाप नगरपालिका ५ गोलन्जोर घाट बस्ने अन्दाजी ५५ वर्षीय मङ्गलबहादुर माझीको भएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । शबको पहिचान भएपश्चात उक्त शबलाई ओखलढुङ्गा प्रहरीले कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रामेछापलाई जानकारी गराई रामेछाप प्रहरीलाई बुझाएको समेत जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
