नेपाली समय Loading...२०८२ चैत्र २ सोमबार

खुल्ला वडास्तरीय पुरुष भलिबलको उपाधि पलापुलाई 

प्रथम स्थान प्राप्त गर्न सफल पलापु

ओखलढुङ्गान्युज, चैत २ गाम्नाङटार । लिखु गाउँपालिकाको गाम्नाङटारमा आइतबार सम्पन्न भएको खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ को उपाधि चम्पादेवी गाउँपालिका २ पलापुले जितेको छ । आइतबार सम्पन्न भएको फाइनल खेलमा पलापुले आयोजक ज्योति ग्रामीण समाज टिम ए लाई निकै कडा प्रतिस्पर्धात्मक खेलमा २-१ सेटले पराजित गर्दै उपाधि जितेको हो ।

प्रतियोगितामा उपाधि जितेसँगै पलापुले ट्रफी सहित नगद रु ६५ हजार ५५५ का साथमा मेडल र प्रमाणपत्र हात पारेको छ । त्यस्तै पलापुसँग पराजित भएको आयोजक टिम ए ले नगद रु ४५ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ ।

उपविजेता ज्योति ग्रामीण समाज आयोजक ए

त्यस्तै तेश्रो स्थानका लागि भएको खेलमा भने लिखु गाउँपालिका ८ टारकेराबारीले सिद्धिचरण युवा समाज लिखु ६ लाइ २-० को सोझो सेटमा पराजित गर्दै नगद रु २५ हजार ५५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । टारकेराबारीसँग पराजित भएको सिद्धिचरण युवा समाज भने सान्त्वना स्थान हासिल गर्दै नगद रु १५ हजार ५५५ मा चित्त बुझायो । 

शुक्रबारबाट सुरु भएर आइतबार सम्पन्न भएको प्रतियोगितामा ओखलढुङ्गा र रामेछाप गरी दुईवटा जिल्लाका १४ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । यस प्रतियोगितामा प्रदेश तथा एनभिए जस्ता ठूला प्रतिस्पर्धामा सहभागी भएका खेलाडीहरूलाई भने सहभागिता गराइएको थिएन । 

प्रतियोगितामा विषयगत विधातर्फ पलापुका सोनिस मगर सर्बोत्कृष्ट खेलाडी घोषित हुँदै नगद रु १५०० सहित ट्रफी हात पार्न सफल बने । अन्य विषयगत विधातर्फ उत्कृष्ट सेटर पलापुका अनिल मगर, उत्कृष्ट डिफेन्डर पलापुका निरोज मगर, उत्कृष्ट ब्लकर ज्योति ग्रामीण समाजका प्रवीण खत्री, उत्कृष्ट स्पाइकर ज्योति ग्रामीण समाजका प्रकाश पौडेल तथा उत्कृष्ट सर्भर लिखु गाउँपालिका ८ टारकेराबारीका अरुण अधिकारी तथा उत्कृष्ट टीम कोच ज्योति ग्रामीण समाजका सन्जोक बस्नेत घोषित भए । विषयगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई जनही नगद रु १००० का साथमा ट्रफी प्रदान गरिएको थियो ।

प्रतियोगिताका विजेता खेलाडीहरूलाई समापन सत्र कार्यक्रमका प्रमुख अतिथि लिखु गाउँपालिका वडा नं ७ का वडाध्यक्ष तारा बहादुर तामाङ, युगकवि सिद्धिचरण माविका प्रधानाध्यापक पदम बहादुर रोका, ज्योति ग्रामीण समाजका अध्यक्ष अम्बर बहादुर श्रेष्ठ लगायत अतिथिहरूले नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।