लिखुमा खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

ओखलढुङ्गान्युज, फागुन ३० गाम्नाङटार । जिल्लाको लिखु गाउँपालिका वडा नं ७ गाम्नाङटारमा शुक्रबारबाट खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता २०८२ सुरु भएको छ । गाम्नाङटारमा रहेको ज्योति ग्रामीण समाजको आयोजनामा शुक्रबारबाट खुला वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो।

शुक्रबारबाट सुरु भएको प्रतियोगितामा ओखलढुङ्गा र रामेछाप गरी दुईवटा जिल्लाका १४ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् । ज्योति ग्रामीण समाजले आयोजना गरेको यस प्रतियोगितामा प्रदेश तथा एनभिए जस्ता ठूला प्रतिस्पर्धामा सहभागी भएका खेलाडीहरू भने सहभागिता भएका छैनन् । स्थानीय स्तरमा रहेका नयाँ खेलाडीहरूको उत्पादन तथा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको हुँदा एनभिए र प्रदेशमा सहभागिता जनाइसकेका खेलाडीलाई यसपटक सहभागी नगराएको प्रतियोगिताका संयोजक संजोग बस्नेतले जानकारी दिए ।

शुक्रबारबाट सुरु भएको प्रतियोगिताको लिखु गाउँपालिकाका अध्यक्ष अशोक कुमार कार्कीले औपचारिक कार्यक्रमका बीच समुद्घाटन गरेका हुन् । समुद्घाटन गर्दै अध्यक्ष कार्कीले लिखु गाउँपालिकाले युवाहरूको खेलकुद विकासको लागि पालिकाको तर्फबाट निरन्तर खेलकुदमा लगानी गरिरहेको र आगामी दिनमा समेत खेलकुदको विषय प्राथमिकतामा राख्ने बताए ।
शुक्रबारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका विजेताले नगद रु ६५ हजार ५५५ उपविजेताले ४५ हजार ५५५, तेस्रो हुनेले २५ हजार ५५५ तथा सान्त्वना स्थान प्राप्त गर्नेले १५ हजार ५५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई नगद रु १५०० तथा प्रतियोगिताका विषयगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरूलाई जनही नगद रु १००० प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उत्कृष्ट टिम कोचलाई पनि नगद रु १००० प्रदान गरिने आयोजकले जनाएको छ ।

