नेपाली समय Loading...२०८२ फाल्गुन २६ मंगलवार

लिखुमा वडा स्तरिय भलिवल ः ठूला खेल खेलेका खेलाडी सहभागी हुन नपाउने


ओखलढुङ्गान्युज, फागुन २६ ओखलढुङ्गा । जिल्लाको लिखु गाउँपालिका वडा नं. ७ गाम्नाङटारमा आगामी फागुन २९ गतेदेखी खुला वडा स्तरीय पुरुष भलिवल प्रतियोगिता हुने भएको छ । लिखु गाउँपालिका वडा नं. ७ मा रहेको ज्योति ग्रामिण समाजले प्रतियोगिताको आयोजना गरेको हो ।

उक्त प्रतियोगितामा विजेता हुने टीमले नगद रु ६५ हजार ५५५ तथा दोश्रो हुनेले नगद रु ४५ हजार ५५५ का साथमा ट्रफि, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा तेश्रो हुने टीमले नगद रु २५ हजार ५५५ तथा सान्त्वना स्थान प्राप्त गर्ने टिमले नगद रु १५ हजार ५५५ का साथमा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

जिल्लाको लिखु गाउँपालिका क्षेत्रमा आयोजकले पहिलो पटक नयाँ नियमका साथ प्रतियोगिता सञ्चालन गर्न लागेको छ । आयोजकले तय गरेको नयाँ नियम अनुसार खुल्ला वडा स्तरीय भलिवल प्रतियोगिता भएपनि प्रदेश तथा एनभिए स्तरीय ठूला खेलमा सहभागी भै खेल खेलीसकेका खेलाडीहरुले भने यो प्रतियोगितामा सहभागी हुन पाउने छैनन् ।

वडा स्तरीय प्रतियोगितामा माथिल्लो स्तरीय खेल खेली सकेका खेलाडी सहभागी हुँदा नयाँ खेलाडी उत्पादन तथा सहभागीतामा समस्या देखिएपछि यस्तो नियम राखेर खेल सञ्चालन गर्न लागिएको प्रतियोगिताका संयोजक संजोग बस्नेतले जानकारी दिए । प्रतियोगिताको उद्धेश्य नै वडा वडामा नयाँ खेलाडी उत्पादन तथा खेल खेल्ने अबसर सृजना गर्ने भएकोले प्रदेश तथा एनभिए स्तरीय जस्ता ठूला खेल खेलेका खेलाडीलाई यसपटक रोक लगाईएको संयोजक बस्नेतको भनाई छ ।

प्रतियोगिता आगामी फागुन २९ गते देखी चैत १ गते सम्म लिखु गाउँपालिका ७ मा रहेको ग्रामज्योति आधारभूत विद्यालयको खेलमैदानमा सञ्चालन हुनेछ । प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई नगद रु १५००, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सर्भर तथा उत्कृष्ट टीम कोचलाई जनही नगद रु १००० प्रदान गरिने समेत आयोजकले जनाएको छ ।