ओखलढुङ्गामा समानुपातिक मतगणना सकियो : रास्वपा नै प्रथम
ओखलढुङ्गान्युज, फागुन २५ ओखलढुङ्गा । प्रतिनिधी सभा सदस्य पदको निर्वाचन अन्तर्गत ओखलढुङ्गामा भएको समानुपातिक मतको गणना सकिएको छ । समानुपातिक तर्फको मतगणना गर्दा देशभर झै ओखलढुङ्गामा पनि राष्ट्रिय स्वतन्त्र पार्टी नै प्रथम स्थानमा रहन सफल भएको छ ।
समानुपातिक तर्फ ओखलढुङ्गामा खसेको कूल ५९ हजार ६ सय ९० मत मध्ये प्रथम स्थानमा रहदै राष्ट्रिय स्वतन्त्र पार्टीले १७ हजार ६ सय ३९ मत प्राप्त गरेको छ । समानुपातिक तर्फको मतगणना सम्पन्न हुदाँ नेपाली कांग्रेस १२ हजार ८ सय ९१ मतका साथ दोश्रो स्थानमा रहन पुग्यो । प्रत्यक्ष मतमा चौंथो बनेको नेकपा एमाले भने समानुपातिक तर्फ ९ हजार २ सय १० मत प्राप्त गर्दै तेश्रो बन्न पुग्यो । नेपाली कम्युनिष्ट पार्टीले भने ६ हजार ९ सय ६५ मत मात्र प्राप्त गरेको छ ।
समानुपातिक मतगणना सकिदा ओखलढुङ्गामा श्रम संस्कृति पार्टीले ४ हजार ६ सय २५ मत पायो । राष्ट्रिय परिवर्तन पार्टीले २ हजार ३ सय ९४ मत पायो । त्यस्तै जनता समाजवादी पार्टी नेपालले ७१७, राष्ट्रिय प्रजातन्त्र पार्टीले ६७८, मंगोल नेशनल अर्गनाईजेशनले २७०, नेपाल जनता संरक्षण पार्टीले १६४, सार्वभौम नागरिक पार्टीले १४१, जनमत पार्टीले ११३ मत प्राप्त गरेको छ । अरु सबै राजनितीक दलले समानुपातिकमा खाता खोलेपनि १०० मत पनि कटाउन भने सकेनन् ।
समानुपातिक तर्फको मतगणना गर्न ओखलढुङ्गामा झण्डै ४० घण्टा लागेको थियो । मतगणना सकिएसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालय ओखलढुङ्गाले समानुपातिक तर्फको अन्तिम मतगणनाको तथ्यांक मंगलबार विहान १० बजे सार्वजनिक गरेको हो ।
l
