ट्रिफर दुर्घटना अपडेट : शब ट्रिफर चालक खत्रीको भएको पुष्टि
ओखलढुङ्गान्युज, फागुन २० ओखलढुङ्गा । भिरमा अड्किएको अवस्थामा भेटिएको शबको प्रहरीले पहिचान गरेको छ । आज बुधबार बिहान सिद्धिचरण लोकमार्ग (ओखलढुङ्गा-सोलुखुम्बु) सडक खण्डको सिद्धिचरण नगरपालिका वडा नं. ५ ढुङ्ग्रेखोला सिरान छेउस्थित भिरमा अड्किएको शबको प्रहरीले पहिचान भएको जनाएको हो ।

ओखलढुङ्गामा ट्रिफर दुर्घटना भएको स्थान
शब दुर्घटना ग्रस्त अबस्थामा भेटिएको बा.प्र.०८-००१ ख ००८१ नम्बरको टिफरका चालक उदयपुर जिल्ला कटारी न.पा.-४ मरुवा खोला बस्ने अन्दाजी बर्ष २६ को युवराज खत्री भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
दुर्घटना भएको उक्त ट्रिफर मंगलबार दिउँसो ४ बजेतिर सोलुखुम्बुबाट मिर्चैया तर्फ हिडेको पाइएको पनि प्रहरीले जनाएको छ । मिर्चैया तर्फ जाने क्रममा राती नै ट्रिफर उक्त स्थानमा दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
