ट्रिफर दुर्घटनामा परी ओखलढुङ्गामा एक पुरुषको मृत्यु
ओखलढुङ्गान्युज, फागुन २० ओखलढुङ्गा । ओखलढुङ्गामा ट्रिफर दुर्घटनामा परि एक पुरुषको मृत्यु भएको छ । जिल्लाको सिद्धिचरण नगरपालिका ५ ढुङ्ग्रेखोला सिरान छेउस्थित सिद्धिचरण लोकमार्ग खण्डमा ट्रिफर दुर्घटना हुँदा एक पुरुषको मृत्यु भएको हो ।
उक्त स्थानमा रहेको भीरमा सडकबाट करिब १०० मिटर तल भीरमा अड्किएको अवस्थामा एक पुरुषलाई देखेपश्चात स्थानीयवासीले तत्काल प्रहरीलाई जानकारी गराएका थिए । बुधबार बिहान करिब साढे दश बजेतिर स्थानीयले प्रहरीलाई जानकारी गराउन साथ घटनास्थलमा जिल्ला प्रहरी कार्यालयको टोली पुगेको छ ।
पुरुष भीरमा अड्किएर मृत अवस्थामा भेटिएको स्थानभन्दा २०० मिटर तल एक त्रिफर पनि दुर्घटनाग्रस्त अवस्थामा देखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । यो समाचार तयार गर्दासम्म दुर्घटनामा परेको ट्रिफरको तथा मृतकको पहिचान हुन सकेको छैन । घटनास्थलमा फेला परेका पुरुषको सबको पहिचानको कार्य भइरहेको तथा घटनास्थलमा फेला परेको गाडीको विषयमा समेत बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
