रामेछाप गाडी दुर्घटना : मतदान अधिकृत र प्रहरी असइको मृत्यु

दुर्घटनाका घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिदै
ओखलढुङ्गान्युज, फागुन १८ रामेछाप । आज रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नं २ देउरालीमा निर्वाचन सामाग्री सहित निर्वाचनमा खटिएका कर्मचारी बोकेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाल प्रहरीका असई परशुराम यादव र रामेछाप नगरपालिका ३ साँघुटार मतदान केन्द्र ख का मतदान अधिकृत डोरप्रसाद घिमिरे रहेका छन् ।

दुर्घटनामा परेको गाडी
गाडी दुर्घटना हुँदा प्रहरी असइ यादवको घटनास्थलमै मृत्यु भएको थियो भने मतदान अधिकृत घिमीरेको भने उपचारका लागि मन्थली लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । दुर्घटनामा अन्य सात जना गम्भीर घाइते भएका छन् भने एकजना सकुशल रहेको पनि रामेछाप प्रहरीले जनाएको छ । मृतक मतदान अधिकृत घिमिरे मन्थली नगरपालिका ७ मा रहेको रुद्राक्षेश्वर मावि मुगीटारका निमावि द्वितीय शिक्षक हुन् ।
मन्थली रामेछापबाट निर्वाचनको सामाग्री र कर्मचारी बोकेर रामेछाप नगरपालिका ३ साँघुटार तर्फ जाँदै गरेको बा ७ ख ६७६८ नम्बरको आइचर गाडी रामेछाप नगरपालिका २ देउरालीको सिरुवारीको भिरमा खसेको थियो । गाडी सडकबाट झन्डै दुई सय मिटर तल भिरमा खसेको थियो । गाडीमा सिरुवारी र साँघुटारका लागि मतदान सामग्री र १ चालक सहित १० जना सवार रहेका थिए ।
घाइते सातैजनालाइ थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत काठमाडौं लगिएको छ । घटनाको बारेमा अनुसन्धान सुरु गरिएको रामेछाप प्रहरीले जनाएको छ ।
