मतदाताले उम्मेदवारसँग पैसा लिए ५० हजार नगद सहित १ बर्षको जेल
ओखलढुङ्गान्युज, फागुन १८ काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ फागुन २१ को मिति नजिकिँदै छ । निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले मतदातालाई राजनीतिक दलका उम्मेदवारबाट उपहार, पुरस्कार, नगद वा जिन्सी सामग्री नलिन चेतावनी दिएको छ ।
निर्वाचन आयोगका अनुसार निर्वाचनको समयमा मतदानको अधिकार प्रयोग गरेबापत कुनै किसिमको बकस, इनाम, प्रलोभन वा सार्वजनिक भोजमा सहभागी हुनु समेत कानूनविपरीत हुन्छ । निर्वाचन आचारसंहिता विपरीत यस्ता गतिविधि भएको पाइएमा सम्बन्धित व्यक्तिमाथि कानूनी कारबाही गरिने आयोगले जनाएको हो ।
आयोगले यस प्रकारका गतिविधिमा संलग्न हुने मतदातालाई ५० हजार रुपैयाँसम्म जरिवाना, ६ महिनादेखि १ वर्षसम्म कैद वा दुवै सजायको प्रावधान रहेको स्पष्ट पारेको छ । आयोगले एक सूचना प्रकाशित गर्दै निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन सबै मतदातालाई कानूनको पालना गर्न समेत आग्रह गरेको छ ।
