हस्तलेखन विधामा मनकामना मावि ओखलढुङ्गाकी छात्रा अधिकारी नेपाल टप, जितिन २ लाख

शिक्षा अधिकारी, मनकामना मावि वाक्सा, ओखलढुङ्गा
ओखलढुङ्गान्युज, फागुन १४ काठमाडौँ । के तपाईं पत्याउनु हुन्छ ? ओखलढुङ्गाको सामुदायिक विद्यालयमा अध्ययनरत एक छात्राले हस्तलेखन विधामा नेपाल टप गरेकी छन् । ती छात्राले प्रतियोगितात्मक हस्तलेखन विधामा नेपाल टप गर्दै नगद रु २ लाख सहित ट्रफी हात पारेकी छन् ।
उनी हुन् मनकामना मावि मानेभन्ज्याङ २, वाक्सा कक्षा ९ मा अध्ययनरत ओखलढुङ्गाकी छात्रा शिक्षा अधिकारी । छात्रा अधिकारीले प्रतियोगितामा सहभागी भएका देशभरका २७० वटा विद्यालयका प्रतिस्पर्धी साथीहरूलाई उछिन्दै प्रथम भएकी हुन् । उनी हाल मनकामना मावि वाक्सामा कक्षा ९ मा पढ्छिन् । उनी बाबा शीब बहादुर अधिकारी र आमा सुमित्रा कार्की अधिकारीको जेठी छोरी हुन् ।
अध्ययनको क्रममा पछिल्लो समय मानेभञ्ज्याङ गाउँपालिकाले सन्चालन गरेको हस्तलेखन शीप विकास तालिमबाट प्रभावित अधिकारीले हस्तलेखन कलामा आफुलाई निकै तिखारिन् । यसै क्रममा संघर्ष जनआवाज मिडिया प्रा. लि., चाबहिल काठमाडौं र सह आयोजक- केन्द्रीय प्याप्सन, केन्द्रीय पेटसन, राष्ट्रीय नव प्रतिभा मंच नेपालले सन्चालन गरेको हस्तलेखन शीप प्रतिष्पर्धामा सहभागी हुने अबसर पाइन् । जुन प्रतिष्पर्धामा सहभागी हुन विद्यालयका शिक्षक लक्ष्मण राउतसँगै अधिकारीका बुबाआमा, परिवार तथा गुरुहरुको साथ रह्यो ।
सोहि क्रममा आयोजकले आज (विहीबार, फागुन १४, २०८२) राष्ट्रीय नाच घर जमल काठमाडौंमा सन्चालन गरेको नृत्य, गायन, चित्रकला, वक्तृत्वकला र हस्तलेखन विधा मध्ये National Student Talent Competition–2082 (Talent Star – Handwriting) विधामा नेपाल टप गरिन् । प्रतियोगितामा सन्चालनका दौरानमा भएको सातवटै चरण पुराका साथ नेपाल टप गर्दै अधिकारीले नगद रु २ लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र हात पारिन् ।
विजेता अधिकारीसँगै अन्य विभिन्न विधाहरुमा समेत विजेता छात्र-छात्राहरुलाइ सार्वजनिक शैक्षिक गुठी विद्यालय संघ नेपालका केन्द्रीय अध्यक्ष जे.एस. पौडेलले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
