नेपाली समय Loading...२०८२ फाल्गुन १२ मंगलवार

सरकारी गाडी बुझाउन जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाको अनुरोध

ओखलढुङ्गान्युज, फागुन १२ ओखलढुङ्गा । स्थानीय सरकारका कर्मचारी तथा जनप्रतिनिधीहरुले प्रयोग गर्दै आएको सरकारी गाडी बुझाउन जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुङ्गाले आइतबार एक सूचना जारी गर्दै उक्त अनुरोध गरेको हो ।

जिल्ला प्रशासन कार्यालयले प्रतिनिधी सभा सदस्य निर्वाचन २०८२ का लागि जारि भएको आचार संहितामा स्थानीय कार्यपालिका पदाधिकारीहरुले निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी सवारी साधनको प्रयोग गर्न नहुने भन्ने ब्यबस्था भएको र आसन्न निर्वाचनको प्रचारप्रसारका क्रममा त्यस्ता सरकारी सवारी साधनहरुको प्रयोग हुने सम्भावना देखिएकोले तत्काल त्यस्ता सवारी साधन प्रशासन तथा नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो ।

स्थानीय सरकारले बुझाएका उक्त सवारी साधनहरु आसन्न निर्वाचन आगामी फागुन २१ सकिए पश्चात पुन प्राप्ती गर्नेछन् । ती सवारी साधनहरुलाई निर्वाचन आयोगले आवश्यकता अनुसार निर्वाचन प्रयोजनका लागि भने प्रयोग गर्न सक्नेछन् ।

पछिल्लो समय जिल्लाका विभिन्न स्थानहरुमा चुनाव प्रचारप्रसारका क्रममा सरकारी सवारी साधनहरुको प्रयोग भएको देखिएको थियो । जिल्लामा रहेका स्थानीय सरकारका निर्वाचित जनप्रतिनिधीहरुले निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो पार्टीलाई जिताउन भन्दै भोट माग्नका लागि सरकारी सवारी साधनको दुरुपयोग गरेको गुनासो आउन थालेको थियो । उक्त गुनासोलाई मध्य नजर गर्दै प्रशासनले उक्त सूचना जारी गरेको थियो ।