भिरबाट लडेर ओखलढुङ्गामा एक महिलाको मृत्यु
ओखलढुङ्गान्युज, फागुन ८ ओखलढुङ्गा । जङ्गलमा सालको पात टिप्ने क्रममा ओखलढुङ्गामा एक महिला भिरबाट लड्दा घटनास्थलमा नै मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको चिसङ्खुगडी गाउँपालिका वडा नं ८ माम्खा घर भई लामो समयदेखि माइतीघर सिद्धिचरण नगरपालिका १० रूप्से बस्दै आएकी अन्दाजी ७१ वर्षीय मुगामाया ढुंगाना रहेकी छन् ।
लामो समयदेखि माइतीघर बस्दै आएकी ढुङ्गाना शुक्रबार दिउँसो माइतीघर नजिकै रहेको आम्जाने भन्ने जंगलमा सालको पात टिप्न गएकी थिइन् । सालको पात टिप्ने क्रममा जङ्गलको भिरबाट अन्दाजी १०० मिटर तल खस्दा उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेर प्रहरीले कानुनी मुचुल्का तयार गरी शबलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
