मोलुङमा एक पुरुष मृत फेला
ओखलढुङ्गान्युज, माघ २९ ओखलढुङ्गा । जिल्लाको मोलुङ गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको मोलुङ गाउँपालिका वडा नं ४ सराबन बस्ने अन्दाजी वर्ष ८२ को नैनाराज सुनुवार रहेका छन् ।
मृतक सुनुवार विगत तीन वर्षदेखि मोलुङ गाउँपालिका ४ हर्कपुरमा बस्ने छोरी मोनिका रापचाको घरमा बस्दै आएका थिए । उनी गत मङ्गलबार छोरीको घरबाट आफ्नो घर पुगेर आउँछु भनी निस्किएका थिए । मङ्गलबार देखि छोरीको घरबाट निस्किएका सुनुवार आज बिहिबार मोलुङ गाउँपालिका ४ थामडाँडा भन्ने स्थानको गोरेटो बाटोमा घोप्टो परेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
सुनुवार बिहिबार दिउँसो अन्दाजी ३ बजेतिर मृत अवस्थामा फेला परे पश्चात स्थानीयले इलाका प्रहरी कार्यालय वरुणेश्वरलाई जानकारी गराएका थिए । प्रहरीले जानकारी पाउनसाथ प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटनास्थलमा पुगेको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी सबको पोस्टमार्टमका लागि जिल्ला अस्पताल रुम्जाटार पठाएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
घटनाको बारेमा अन्य अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
