दुर्घटना अपडेट : अरनिको बस दुर्घटनामा परेका तीन अझै बेपत्ता

ओखलढुङ्गान्युज, माघ २९ रामेछाप । गत मङ्गलबार रामेछाप जिल्लाको मन्थली नगरपालिका ६ मा भएको पूर्व अरनीको यातायातको बस दुर्घटना परि तीनजना अझै बेपत्ता भइरहेका छन् ।
बेपत्ता हुनेहरूमा मन्थली नगरपालिका वडा नम्बर २ पिल्ले बस्ने तारा तामाङको ९ वर्षीय छोरा क्रिचन तामाङ, लिखु तामाकोशी गाउँपालिका ७ तिलपुङ बस्ने रमिता तामाङको छोरा ८ वर्षीय छोरा रोनिस तामाङ र उमाकुण्ड गाउँपालिका ६ गुप्तेश्वर बस्ने वर्ष २४ का विशाल सुनुवार रहेको जिल्ला प्रहरी कार्यालय रामेछाप मन्थलीका सूचना अधिकारी प्रहरी निरीक्षक राजन प्रसाद तिमल्सिनाले जानकारी दिए ।
गत मङ्गलबार काठमाडौँबाट ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका वडा नम्बर २ पोल्थलीका लागि छुटेको पूर्व अरनीको यातायातको बा प्र ००१-०५ ख ९९७५ नम्बरको बस मन्थली खुर्कोट पुष्पलाल सडक खण्डको मन्थली नगरपालिका छ बेनीघाट पुल नजिक बिहान १०:४० बजे दुर्घटनामा परेको थियो । दुर्घटनामा परेका मध्ये १२ जनाको मृत अवस्थामा र ८ जनाको घाइते अवस्थामा उद्धार गरिएको थियो । तीनजना बेपत्ता रहे सँगसँगै गाडीमा २३ जना रहेको पुष्टि भएको छ।
मृतक सबैको शबलाई मन्थली अस्पतालमा राखिएको छ भने घाइतेहरूलाई थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ । दुर्घटना पश्चात् बुधबार दिनभर रामेछापका नागरिकहरूले यातायातका साधनहरू जिल्लाभर अवरोध गरेका छन् । मृतकका परिवारले क्षतिपूर्ति पाउनुपर्ने माग राखी आन्दोलन गर्दै जिल्ला प्रशासन कार्यालयमा पुगेका आन्दोलनकारीहरूले भने जिल्ला प्रशासन कार्यालय मन्थलीमा ढुंगामुढा प्रहार गरेका छन् । आन्दोलनकारीहरूले ढुङ्गामुढा प्रहार गर्दै जिल्ला प्रशासन कार्यालयको गेट तोडफोड गर्न थाले पश्चात प्रहरीले आन्दोलन नियन्त्रण गर्न दुई थान अश्रु ग्याँस, दुई थान रबरको गोली समेत प्रहार गरेको थियो ।
