नेपाली समय Loading...२०८२ माघ २८ बुधबार

गाडी दुर्घटना अपडेट : ७ जनाको शब भेटियो, ८ जना गम्भीर घाइते 

ओखलढुङ्गान्युज, माघ २७ रामेछाप । मङ्गलबार बिहान रामेछापमा भएको अरनीको यातायातको बस दुर्घटनामा परेका यात्रु मध्ये ७ जनाको शब फेला परेको छ भने ८ जना गम्भीर घाइते अबस्थामा रहेका यात्रुहरुको उद्दार गरिएको छ । 

दुर्घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ घटनास्थलमा पुगेको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय नागरिकहरूको सहयोगमा उद्धार कार्य गरिएको हो । उद्धारका क्रममा आठ जना गम्भीर घाइते अवस्थामा रहेका यात्रुहरुलाई उपचारका लागि खुर्कोटमा रहेको सामुदायिक अस्पताल पुर्याइएको छ । 

मृतकमध्ये तीनजना महिला र चारजना पुरुष रहेको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रमुख, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी थापाका अनुसार केही यात्रुको सब नदीले बगाएको भन्ने जानकारीको आधारमा उक्त सबको पनि खोजी कार्य भइरहेको छ । हाल नदीको बीचमा रहेको बसलाई स्काभेटरको सहयोगमा साइडमा ल्याएर उद्धारको कार्य जारी रहेको पनि प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए । मृतकहरूको बारेमा सनाखत हुन भने बाँकी रहेको छ । 

मङ्गलबार बिहान काठमाडौँबाट ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिका २ पोल्थलीका लागि छुटेको अरनीको यातायातको बस रामेछापको मन्थली नगरपालिका ६ मा सडकबाट तामाकोशी नदीमा खसेको थियो । दुर्घटना स्थलमा ७ जनाको सब फेला पर्नुका साथै ८ जना गम्भीर अवस्थामा रहेका घाइतेको उद्धार गरिएको भएपनि गाडीमा कति जना सवार थिए भनेर अझै खुल्न सकेको छैन । 

अपडेट : मंगलबार दिउँसो १:३० बजे