नेपाली समय Loading...२०८२ माघ २८ बुधबार

काठमाडौँबाट ओखलढुङ्गा तर्फ आउँदै गरेको गाडी दुर्घटना, आधा दर्जन बढीको मृत्यु 

ओखलढुङ्गान्युज, माघ २७ काठमाडौं । काठमाडौँबाट ओखलढुङ्गाको लागि छुटेको अरनीको यातायातको गाडी मङ्गलबार बिहान दुर्घटनामा परेको छ । गाडी दुर्घटना परी आधा दर्जन जनाभन्दा बढी यात्रुको मृत्यु भएको छ । 

मङ्गलबार बिहान काठमाडौँबाट ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाको पोल्थली रगनीका लागि छुटेको बा ५ ख ९९७५ नम्बरको अरनीको यातायातको गाडी रामेछापको मन्थली नगरपालिका ६ सेलेघाट नजिकै १० बजेतिर सडकबाट तामाकोशी नदीमा खसेको हो । गाडी दुर्घटनामा परी गाडीमा सवार रहेका आधा दर्जनभन्दा बढी यात्रुको मृत्यु भएको प्रत्यक्ष दर्शीहरुले बताएका छन् । 

गाडी सडकबाट नदीमा खस्दा मृतक यात्रुहरूको सब तामाकोशी नदीले बगाएको समेत प्रत्यक्ष दर्शीले बताएका छन् । घटना पश्चात् उद्धार कार्य भइरहेको छ । गाडीमा ओखलढुङ्गा आउने पाँचजना यात्रुले जडिबुटी कोटेश्वरबाट र तीनजना यात्रुले चाबहिलबाट टिकट काटेको अरनिको यातायातको मुख्य काउन्टर जडिबुटी कोटेश्वरले जनाएको छ । 

आठजना यात्रुहरुले टीकट काटेर बसमा चढेको भएपनि गाडीमा कति जना सवार थिए भनेर केही खुल्न सकेको छैन । घटनास्थलबाट कम्तिमा १० जनाभन्दा बढीको शब तामाकोशी नदीले बगाउँदै गरेको र छ जना भन्दा बढी घाइते रहेको प्रत्यक्षदर्शीले बताएका छन् । 

घटना बारे जानकारी हुनासाथ घटनास्थलमा रामेछाप जिल्लाको तीनवटै सुरक्षा निकायको टोली पुगेको छ । सुरक्षा निकायको टोलीसँगै स्थानीय नागरिक र अन्य सवारी साधनका यात्रुहरूले उद्दार कार्य जारी राखेका छन् । घटनाको बारेमा विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।