ओखलढुङ्गा प्रहरीलाई ठूलो सफलता, राई दम्पतीको हत्या आरोपी पक्राउ

ओखलढुङ्गान्युज, माघ २४ ओखलढुङ्गा । लामो समयको लगातार प्रयास पश्चात ओखलढुङ्गा प्रहरीलाई ठूलो सफलता हात लागेको छ । जिल्लाको चिशंखुगढी गाउँपालिका ६ भदौरेका राई दम्पतिको विभत्स हत्यामा सहभागी हत्यारालाई पक्राउ गर्न सिआइबीको सहयोगमा ओखलढुङ्गा प्रहरी सफल भएको हो ।
ओखलढुङ्गामा राई दम्पतिको हत्या गरेर फरार रहेका हत्याराहरु मध्ये प्रहरीले केहि हत्यारालाई काठमाडौँबाट पक्राउ गर्न सफल बनेको हो । काठमाडौंबाट पक्राउ परेका हत्या आरोपीहरुलाई प्रहरीले ओखलढुङ्गा ल्याउँदै छ । ओखलढुङ्गा ल्याइपुर्याउनासाथ उनीहरुलाई सार्वजनिक गराउने प्रहरीले तयारी गरेको छ । हत्या आरोपमा पक्राउ परेका कहाँका को-को हुन् ? सार्वजनिक हुन बाँकी छ ।
गत माघ १२ गते राति चिशंखुगढी गाउँपालिका वडा नं. ६ भदौरेका ८० वर्षीय चन्द्रबहादुर राई र उनका श्रीमती चन्द्रमाया राईलाई अपराधिक समूहले हत्या गरेको थियो । त्यस्तै पुष १४ गते राति सोहि स्थानका ६० वर्षीय सोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको पनि अपराधिक समूहले लुटपाट पश्चात हत्या गरेको थियो ।
एक महिनाको अवधिमा नै भदौरेमा दुई दम्पतिको हत्या भएपछि भदौरे अशान्त छ । नागरिकहरुमा त्रास बढेको छ । राज्यले हत्यारालाई समाउन नसकेको र सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको भन्दै समिति बनाएर नै भदौरेका नागरिक आन्दोलनमा छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा समेत भोट नहाल्ने भदौरेका नागरिकहरुले बताएका छन् ।
