पोकली झरनामा भलिबल प्रतियोगिता : विजेताले पाउनेछ ७०,७७७
ओखलढुङ्गान्युज, माघ २१ पोकली । ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका वडा नं. ९ को पोकलीमा आगामी फागुन १ गतेदेखि तीन दिनसम्म खुला वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । तीन दिनसम्म हुने प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार ७७७ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तै प्रतियोगिताको उपविजेता अर्थात् दोश्रो हुने टिमले नगद रु ५० हजार ५५५ र तेश्रो हुने टिमले नगद रु ३० हजार ३३३ का साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा सान्त्वना अर्थात चौथो हुने टीमले पनि नगद रु १० हजार १११ का साथमा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
हिमचुली जनजागरण युवा क्लबले आयोजना गरेको उक्त प्रतियोगिताको बिधागत तर्फ उत्कृष्ट खेलाडीलाई नगद रु ३००० तथा उत्कृष्ट सेटर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट कोचलाई नगद रु २००० प्रदान गरिने प्रतियोगिता आयोजनाका संयोजक शोम खड्काले जानकारी दिए ।
स्थानीय रूपमा खेलाडीको उत्पादनसँगै तत्कालीन सरकारले सय गन्तव्यको सूचीमा राखेको पोकली झरनाको प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन समेत गराउने प्रतियोगिताको उद्देश्य रहेको छ । पोकली झरनाको काखमा हुने यस प्रतियोगितामा सहभागी हुने खेलाडी तथा दर्शकहरुले खेलको मजासँगै पोकली झरनाको प्राकृतिक मनोरम दृश्य अवलोकन गर्न समेत सकिने आयोजकले जनाएको छ ।
