सुनकोशी गाउँपालिका : छैटौं राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रबुद्ध माविलाई

ओखलढुङ्गान्युज, माघ १७ मूलखर्क । सुनकोशी गाउँपालिकामा आज सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रबुद्ध मावि च्यानमले जितेको छ । च्यानमले १४ स्वर्ण, ८ रजत र १ काश्य पदक सहित कुल २३ पदकका साथ उपाधि जितेको हो ।

आज सम्पन्न प्रतियोगितामा चौतारा मावि डाँडाखर्क भने दोस्रो बन्न पुगेको छ । चौतारा मावि डाँडाखर्कले ६ स्वर्ण, ४ रजत र ३ काश्य पदक सहित कुल १३ पदकका साथ दोस्रो बनेको हो । कालिका मावि सिस्नेरी भन्ज्याङ भने ५ स्वर्ण, ३ रजत र ४ काश्य पदकका साथ कुल १२ पदक सहित तेस्रो बनेको छ ।
प्रतियोगितामा थानी मावि भने २ स्वर्ण, ६ रजत र ५ काश्य पदक सहित कुल १३ पदकका साथ चौथो स्थानमा रहन पुग्यो । बलखु मावि बलखुले २ स्वर्ण, ३ रजत ३ काश्य सहित कुल ८ पदकका साथ पाँचौं स्थानमा रहन पुगेको छ भने सुनकोशी मावि बलखुले १ स्वर्ण, २ रजत र ५ कास्य पदक सहित कुल ८ पदकका साथ छैठौं बनेको छ ।

प्रतियोगितामा दामती मावि पाराले २ रजत र ३ कास्य सहित कुल ५ पदक, जगत जननी माविले २ रजत, कटुञ्जे मावि कटुञ्जेले ४ काश्य, कालिका मावि कोषभन्ज्याङले २ काश्य, कुशादेवी माविले १ काश्य पदक प्राप्त गरेको छ । प्रतियोगितामा पञ्चकन्या मावि र आरुभन्ज्याङ माविले भने पदकको खाता खोल्न सकेन ।
यो पटक विजेता बनेसँगै प्रबुद्ध मावि च्यानमले लगातार छैटौंपटक सुनकोशी गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको रनिङसिल्ड उचालेको छ । प्रतियोगिताका विजेता विद्यालयलाई क्रमश नगद रु २५ हजार, २० हजार र १५ हजारका साथमा कार्यक्रमका अतिथि सुनकोशी गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारी, प्रमुख प्रशासकीय अधिकृत लोकेन्द्र बहादुर राई, शिक्षा शाखा प्रमुख विवेक तामाङ, वडा अध्यक्ष लगायत अतिथिहरूले ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरेका थिए ।
