सुनकोशी गाउँपालिका : छैठौँ राष्ट्रपति रनिङसिल्डमा प्रबुद्धको अग्रता कायमै

ओखलढुङ्गान्युज, माघ १६ मूलखर्क । जिल्लाको सुनकोशी गाउँपालिकामा जारी अन्तरमाध्यमिक विद्यालय स्तरीय छैठौँ राष्ट्रपति रनिङशील खेलकुद प्रतियोगिता २०८२ को दोस्रो दिन प्रबुद्ध मावि च्यानलले आफ्नो अग्रता कायम गरेको छ । प्रतियोगिताको दोस्रो दिन सकिँदा प्रबुद्ध माविले ७ स्वर्ण, ६ रजत र १ काश्य पदक गरी कुल १४ पदका साथ अग्रता कायम राखेको हो ।
प्रतियोगिताको दोस्रो दिन सकिँदै गर्दा प्रबुद्धलाई कालिका मावि सिस्नेरीले पछ्याइरहेको छ । कालिकाले ४ स्वर्ण, ३ रजत र १ काश्य पदक सहित कुल ८ पदकका साथ प्रबुद्धलाई पछ्याइरहेको हो । त्यस्तै प्रबुद्ध र कालिकालाई चौतारा मावि डाँडाखर्कले ४ स्वर्ण २ रजत र १ काश्य पदक सहित कुल ७ पदकका साथ पछ्याइरहेको छ ।
त्यस्तै प्रतियोगिताको दोस्रो दिन सकिँदासम्म बलखु मावि बलखुले २ स्वर्ण, २ रजत र ४ काश्य सहित कुल ८ पदक प्राप्त गरेको छ । थानी माविले २ स्वर्ण, ३ रजत र २ काश्य सहित ७ पदक प्राप्त गरेको छ । सुनकोशी मावि बलखुले १ स्वर्ण, २ रजत र ४ काश्य सहित ७ पदक, दामती मावि पाराले १ रजत र ३ काश्य, कटुन्जे माविले १ रजत र २ काश्य, कालिका मावि कोषभन्ज्याङले २ काश्य पदक प्राप्त गरेको छ ।
प्रतियोगिताको दोस्रो दिन सकिँदासम्म आरुभन्ज्याङ मावि, पञ्चकन्या मावि, जगत जननी मावि र कुशादेवी माविले भने कुनै पनि पदकको खाता खोल्न सकेका छैनन् ।
माघ १५ देखी सुरु भएको प्रतियोगिताको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङले समुद्घाटन गरेका हुन् । प्रतियोगिता माघ १७ गतेसम्म सञ्चालन हुने सुनकोशी गाउँपालिकाका शिक्षा शाखा प्रमुख विवेक तामाङले जानकारी दिए ।
