नेपाली समय Loading...२०८२ माघ १३ मंगलवार

चिसङ्खुगढीमा रोकिएन हत्याशङ्खला : लुटपाटपछि एक दम्पतिको हत्या

ओखलढुङ्गान्युज, माघ १३ ओखलढुङ्गा । जिल्लाको चिसंखुगडी गाउँपालिकामा गएराती एक राई दम्पतिको लुटपाट पश्चात हत्या गरिएको छ । हत्या हुनेमा चिसङ्खुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेका अन्दाजी ८० वर्षीय दम्पति चन्द्रविक्रम राई र उनका श्रीमती चन्द्रमाया राई रहेका छन् ।

गाउँमा पसल सञ्चालन गर्दै आएका राई दम्पतिको लुटपाट पश्चात हत्याराहरूले राति नै हत्या गरी फरार भएको चिसङ्खुगढी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बलराम कटवालले जानकारी दिए । आज बिहानै पसलमा स्थानीय सामग्री खरिद गर्न जाने क्रममा हत्या भएको देखेपश्चात हल्लाखल्ला भएको हो । 

घटनाबारे जानकारी हुनासाथ अहिले घटनास्थल वरपर वडा अध्यक्षसहित स्थानीयहरू भेला भएका छन् । वडा अध्यक्ष घटनास्थलमा पुगेर घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए । घटनाबारे जानकारी प्राप्त हुनासाथ अहिले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको टोली घटनास्थलमा पुगेको छ ।

केही दिन अगाडि मात्रै भदौरेमा नै एक दम्पतिको हत्या पश्चात फरार रहेका अपराधिक समूहका चार जनालाई प्रहरीले पक्राउ गरेपश्चात समाज अलिक शान्त बनेको थियो । तर त्यस्तै खालको अर्को विभत्स हत्याको श्रृङ्खला पुन: दोहोरिए पश्चात भदौरे यो बेला अशान्त बनेको छ । 

घटनाको विषयमा अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।