U-19 भलिबलको उपाधि जनजिवन मावि पोकलीलाई

ओखलढुङ्गान्युज, माघ १२ शैपु । आइतबार रामेछापको सैपु सिरिसेमा सम्पन्न अन्तर माध्यमिक विद्यालय स्तरीय U-19 छात्र भलिबलको उपाधि जनजीवन मावि पोकली ओखलढुङ्गाले जितेको छ । उपाधि जित्दै जनजीवन माविले नगद रु ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेको छ ।

आइतबार साँझ भएको प्रतिस्पर्धात्मक खेलमा जनजीवनले रामेछापको हिमगंगा मावि साँघुटारलाई ३-० को सेटमा पराजित गर्दै उपाधि जितेको हो । जनजीवन मविसँग पराजित भएको हिमगंगा माविले नगद रु २० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा ग्रामोदय युगकवि सिद्धिचरण माविले तेस्रो स्थान प्राप्त गर्दै नगद रु १० हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । सान्तोना स्थान प्राप्त गरेको अरुणोदय मावि टिम ए सैपुले भने नगद रु ५ हजार मात्र प्राप्त गर्न सफल भयो ।

प्रतियोगितामा विधागत तर्फ हिमगङ्गा मावि साँघुटारका दिपेश खड्का उत्कृष्ट सेटर, अरुणोदय मावि टिम ए का दिपेश भुजेल उत्कृष्ट स्पाइकर, ग्रामोदय युगकवि सिद्धिचरण मावि टिम ए का सन्देश मगर उत्कृष्ट ब्लकर बन्दै नगद रु १००० सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भए । प्रतियोगिता अवधिभर जनजिवन मावि पोकलीका अरुण अधिकारी उत्कृष्ट खेलाडी घोषित बन्दै नगद रु १५०० सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्न सफल भए ।

गत माघ ९ गते देखी ११ गतेसम्म रात्री कालीन खेल समेत सञ्चालन भएको प्रतियोगिताका विजेता टीम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथि लिखु तामाकोशी गाउँपालिका २ सैपु रामेछापका अध्यक्ष एवम् अरुणोदय माविका पुर्व प्रधानाध्यापक सन्तोष पौडेलले नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा रामेछाप र ओखलढुङ्गा जिल्लाका गरी १५ वटा टिमले सहभागिता जनाएका थिए ।
गत वर्ष अन्डर १९ छात्रा भलिबल प्रतियोगिताको आयोजना गरेको अरुणोदय माविमा रहेको नवज्योति बालक्लबले यस पटक भने छात्र भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।
