नेपाली समय Loading...२०८२ माघ ९ शुक्रबार

निर्वाचन प्रहरीमा भर्ना हुन दुइदिन म्याद थप

ओखलढुङ्गान्युज, माघ ९ ओखलढुङ्गा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले निर्वाचन प्रहरीमा भर्ना हुनका लागि दुई दिनको म्याद पुन थप गरेको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले आज एक सूचना प्रकाशित गर्दै निर्वाचन प्रहरीमा भर्ना हुनका लागि माघ १० र ११ गते दुई दिन म्याद थप गरेको जनाएको हो ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि जिल्लामा आवश्यक संख्यामा निर्वाचन प्रहरीको लागि आवेदन नपरे पश्चात प्रहरीले अर्को सूचना प्रकाशित गरेको हो । निर्वाचन प्रहरीको लागि यसअघि माघ १ गतेसम्म अन्तिम म्याद दिएको भएपनि उक्त समयमा पनि आवश्यक सङ्ख्यामा आवेदन नआए पश्चात दुई दिन म्याद थप गरेको थियो ।

थपेको दुई दिन म्यादमा निर्वाचन प्रहरीका लागि आवेदन दिएका उम्मेदवारहरूले प्रारम्भिक छनौटका क्रममा उपस्थिति नदेखाए पश्चात जिल्लामा आवश्यक सङ्ख्यामा निर्वाचन प्रहरीको अपुग भएको थियो । जिल्लामा आवेदकको संख्या कम भएको र बाहिरी जिल्लाबाट समेत निर्वाचन प्रहरी ल्याउन सक्ने अवस्था नभएपश्चात पुनः ओखलढुङ्गा प्रहरीले आवेदन दिने म्याद थप गरेको सूचना प्रकाशित गरेको हो।

थपिएको म्यादमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा, इलाका प्रहरी कार्यालय वरुणेश्वर रामपुर तथा इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट आवेदन दिन सकिने पनि प्रहरीले सूचना मार्फत जानकारी गराएको छ ।