ओखलढुङ्गाबाट अस्मिता थापालाई उम्मेदवार बनाउने एमालेको निर्णय

ओखलढुङ्गान्युज, माघ ४ काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनको बारेमा माहौल तातेको बेला ओखलढुङ्गाको राजनीतिक माहोल पनि तातेको छ । ओखलढुङ्गामा ठूला भनिएका राजनीतिक दलले उम्मेदवारको छनौट गर्न नसक्दै एमालेले भने उम्मेदवारको टुङ्गो लगाएको छ ।
नेकपा एमाले ओखलढुङ्गा जिल्ला कमिटीको बसेको बैठकले जिल्लाबाट ५ जनाको नाम सिफारिस गरेर पठाएको थियो । तर शनिबार काठमाडौँमा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकले ओखलढुङ्गामा अस्मिता थापालाई टिकट दिने निर्णय गरेको छ । थापा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा सिफारिस बनेसँगै ओखलढुङ्गामा एमालेको राजनीति तातेको छ ।
ओखलढुङ्गा एमालेको जिल्ला सचिवालयको बैठकले ओखलढुङ्गाबाट एमालेको एघारौँ राष्ट्रिय महाधिवेशनमा पराजित अध्यक्ष पदका उम्मेदवार ईश्वर पोखरेल, निवर्तमान प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवार, प्रदेश सभा सांसद अम्बिरबाबु गुरुङ, वर्तमान जिल्ला अध्यक्ष जीवि खड्का र नानीबाबु बुढाथोकीलाई ओखलढुङ्गाबाट सिफारिस गरेको थियो ।
तर शनिबार बसेको केन्द्रीय समितिको बैठकले ओखलढुङ्गामा देखिएको दुई पक्षिय गुटबन्दी र तिक्ततालाई मध्यनजर गर्दै जिल्लाको सिफारिस विना नै थापालाई उम्मेदवार सिफारिस गरेको हो । थापाको उम्मेदवारी सिफारिसले अहिले ओखलढुङ्गामा तरङ्ग पैदा गरेको छ ।
थापा अध्यक्ष ओलीकी प्रिय पात्र हुन् । एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटमा ओखलढुङ्गामा पराजित भएकी थापा अध्यक्ष ओलीको आशीर्वादले महाधिवेशन प्रतिनिधि बनेकी थिइन् । एमालेको भातृ संगठन अनेरास्ववियूबाट राजनीति सुरुवात गरेकी थापा महाधिवेशन प्रतिनिधि छनोट भएसँगै एमालेको एघारौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्यमा समेत निर्वाचित भएकी थिइन् । उनी ओखलढुङ्गाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि ओखलढुङ्गाबाट एमालेले पाँच जनाको नाम सिफारिस गरेको भएपनि यज्ञराज सुनुवार र अम्बिरबाबु गुरुङको नाम चर्चामा थियो । सुनुवार २०७४ को निर्वाचनमा कांग्रेसका रामहरी खतिवडालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने २०७९ सालको निर्वाचनमा कांग्रेसका रामहरि खतिवडासँग नै पराजित भएका थिए । गुरुङ भने ओखलढुङ्गाबाट कांग्रेसका उम्मेदवारलाइ पराजित गरेर कोशी प्रदेश सांसदमा निर्वाचित हुँदै प्रदेशका मन्त्री समेत बनेका थिए । २०७९ सालमा भएको निर्वाचनमा भने गुरुङ कांग्रेसका उम्मेदवार प्रदिप सुनुवारसँग नै पराजित भएका थिए ।
यसपटक ओखलढुङ्गामा एमालेबाट यज्ञराज सुनुवार र कांग्रेसबाट रामहरि खतिवडाले टिकट नपाउने हल्लाले ओखलढुङ्गाको राजनीतिमा तरंग आएसँगै एमालेमा थापाले टिकट पाएपछि जिल्लामा राजनितीले नयाँ मोड लिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले ओखलढुङ्गाबाट विश्वराज पोखरेललाई उम्मेदवार बनाउने निर्णय गरेर पोखरेल चुनावी प्रचारप्रसारमा लागिसकेका छन् भने नेपाली कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लाइसकेका छैनन् ।
एमालेको टिकट पाएसँगै थापाले भने पालिका उपाध्यक्ष पदबाट राजीनामा दिई माघ ६ गते उम्मेदवारी दर्ता गर्ने तयारी गरेकी छन् ।

