साँघुटार भलिबल : मन्थली ८, चिसापानीको विजयी यात्रा सुरु

ओखलढुङ्गान्युज, माघ ३ साँघुटार । साँघुटार युवा क्लब साँघुटारले आयोजना गरेको खुल्ला वडास्तरीय पुरुष भलिबल प्रतियोगिताको मन्थली नगरपालिका ८ चिसापानीले विजयी यात्रा सुरुवात गरेको छ । शुक्रबार देखि रामेछाप नगरपालिका वडा नम्बर ३ साँघुटारमा रहेको हिमगङ्गा माविको खेलमैदानमा सञ्चालन भएको प्रतियोगितामा चिसापानीले विजयी यात्रा सुरुवात गरेको हो ।

चिसापानीले ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिका ४ यसमलाई प्रतिस्पर्धात्मक खेलमा २-० को जित निकाल्दै विजयी यात्रा सुरुवात गरेको हो । शुक्रबारदेखि सुरुवात भएको खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा रामेछाप जिल्लाको रामेछाप नगरपालिका बाहेक ओखलढुङ्गा, सिन्धुली र दोलखाका विभिन्न गाउँपालिकाका विभिन्न वडाका २६ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका छन् ।

लिगकम नकआउट खेल अन्तर्गत सञ्चालन गरिएको प्रतियोगिताका विजेता टिमले नगद रु ८१ हजार १११ का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै दोस्रो हुने टिमले नगद रु ४१ हजार १११ का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय हुने टिमले २१ हजार का साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने सान्त्वना स्थान प्राप्त गर्ने टिमले नगद रु ८,१११ रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीले नगद रु ५००० सहित ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट सेटर, उत्कृष्ट लिब्रो, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्भर र उत्कृष्ट कोचलाई जनही नगद २ हजार सहित प्रमाणपत्र प्रदान गरिने पनि आयोजक साँघुटार युवा क्लबका अध्यक्ष नरेश प्रधानले जानकारी दिए ।
साँघुटार युवा क्लब रामेछाप नगरपालिका ३ साँघुटारको आयोजनामा शुक्रबारबाट सुरु भएको प्रतियोगिताको बागमती प्रदेश सभाका प्रदेश सांसद माननीय आनन्द कुमार श्रेष्ठले समुद्घाटन गरेका थिए ।

