निर्वाचन प्रहरी भर्नामा दुइदिन म्याद थप
ओखलढुङ्गान्युज, माघ २ ओखलढुङ्गा । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि आवश्यकता पर्ने निर्वाचन प्रहरी भर्ना छनौटमा आवेदन दिने म्याद थप भएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले विहिवार एक सूचना प्रकाशित गर्दै निर्वाचन प्रहरी भर्ना छनौटका लागि माघ १ गतेसम्म म्याद भएको भएपनि आवेदन दिने म्याद दुई दिन थप गरिएको जनाएको छ ।
प्रकाशित सूचना अनुसार निर्वाचन प्रहरी भर्ना छनौट प्रक्रियामा आवेदन दिन इच्छुक नेपाली नागरिकहरुले अब माघ ३ गते अपरान्ह ५ बजेसम्म आवेदन दिन सक्नेछन् । निर्वाचन प्रहरी छनौटमा युवाहरुको आकर्षण बढेको तथा छनोट प्रक्रियामा थप इच्छुक युवाहरूलाई अबसर दिने उद्देश्यले समय थप गरिएको हो ।
छनौट प्रक्रियामा आवेदन दिने म्याद शनिबार बेलुकीसम्म राखिएको भएपनि सम्पर्क मिति भने नसारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । आवेदन दिएका युवाहरुले जिल्ला प्रहरी कार्यालयमा आइतबार नै सम्पर्क गर्नुपर्ने प्रहरीले जानकारी गराएको छ । थपिएको म्यादमा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा, इलाका प्रहरी कार्यालय वरुणेश्वर रामपुर तथा इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट आवेदन दिन सकिने पनि प्रहरीले सूचना मार्फत जानकारी गराएको छ ।


