खिजिदेम्बाका बेपत्ता पुरुष शनिबार मृत भेटिए
ओखलढुङ्गान्युज, पुष २६ ओखलढुङ्गा । जिल्लाको खिजिदेम्बा गाउँपालिकामा शुक्रबार बिहानदेखि हराएका एक पुरुष शनिबार मृत फेला परेका छन् । मृत फेला पर्नेमा खिजिदेम्बा गाउँपालिका वडा नम्बर ६ नयाँवन बस्ने अन्दाजी वर्ष ३४ का मिङमा शेर्पा रहेका छन् ।

मृतक शेर्पा शुक्रबार बिहानै घरबाट कसैलाई खबर नगरे हिँडेर बेपत्ता भएका थिए । बेपत्ता भएका शेर्पा शुक्रबार बेलुकासम्म घरमा नफर्किए पश्चात परिवारले प्रहरीलाई जानकारी गराएको थियो । बेपत्ता भएका शेर्पाको खोजी गर्ने क्रममा शनिबार अपरान्ह करिब साढे चार बजे खिजिदेम्बा गाउँपालिका वडा नम्बर ६ र ९ को सिमानामा रहेको साल्मे खोलाको बीच ढुङ्गामा मृत अड्किएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।
घटनाबारे जानकारी हुनासाथ इलाका प्रहरी कार्यालय खिजीफलाटेबाट प्रहरी निरीक्षक दीपक सिंहको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीको टोली घटनास्थलमा पुगेर कानुनी प्रक्रिया पूरा गरी सबको पोस्टमार्टमका लागि सबलाई जिल्ला अस्पताल रुम्जाटार पठाइएको ओखलढुङ्गा प्रहरीले जनाएको छ । मृतक शेर्पाको मानसिक सन्तुलन ठिक नभएको भनेर परिवारले जानकारी गराएको प्रहरीले बताएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

