सिद्धिचरण नगरपालिका: राष्ट्रपति रनिङसिल्डमा रुम्जाटार माविको दबदबा

ओखलढुङ्गान्युज, पुष २६ ठुलाछाप । सिद्धिचरण नगरपालिकाको वडा नं २ निशंखेभन्ज्याङमा जारी राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगितामा रुम्जाटार मावि रुम्जाटारले दबदबा सृजना गरेको छ । सिद्धिचरण नगरपालिकाले शुक्रबार देखि निशंखेभन्ज्याङमा सन्चालन गरेको अन्तरमाद्यमिक विद्यालय स्तरीय पाँचौ राष्ट्रपति रनिङसिल्ड खेलकुद प्रतियोगिताको दोश्रो दिन सकिदा ११ स्वर्ण पदक सहित रुम्जाटार माविले दबदबा कायम गरेको हो ।
दोश्रो दिनको खेल सकिँदा सम्म रुम्जाटार मावि रुम्जाटारले ११ स्वर्ण, एक रजत र दुई काश्य पदकसहित कुल १४ पदक प्राप्त गरेको छ । रुम्जाटार मावि रुम्जाटारलाई होम ग्राउन्ड समेत रहेको हिमालय मावि निसंखेले दुई स्वर्ण, दुई रजत र पाँच काश्य सहित कुल ९ पदकका साथ पछ्याइरहेको छ । प्रतियोगितामा दोस्रो दिन सकिँदासम्म कुन्ता मावि ज्यामिरेले दुई स्वर्ण र एक रजत सहित तीन पदक प्राप्त गर्दै तेस्रो स्थानमा रहेको छ ।
त्यसैगरी प्रतियोगितामा सगरमाथा जनतामावि ओखलढुङ्गाले एक स्वर्ण तीन रजत र दुई काश्य सहित ६ पदक, राज्यलक्ष्मी मावि सानिटारले एक स्वर्ण र दुई रजतसहित तीन पदक, शुभलक्ष्मी इङ्लिस बोर्डिङ स्कुलले एक स्वर्ण, एक रजत र एक काश्य सहित तीन पदक प्राप्त गरेको छ । त्यस्तै प्रतियोगितामा लालीगुराँस इङ्लिस बोर्डिङ स्कुलले ५ रजत र दुई काश्य सहित ७ पदक, नवज्योति मावि मैदानेले एक रजत र तिन काश्य सहित चार पदक, चम्पादेवी मावि सल्लेरी र पुण्यमाता मावि बेतिनीले एक/एक रजत तथा सनराइज इङ्लिस बोर्डिङ स्कुलले ३ काश्य पदक प्राप्त गरेको छ ।
प्रतियोगितामा सहभागिता जनाएका सिद्धिचरण नगरपालिकाका १८ वटा माध्यमिक विद्यालय मध्ये अन्य माध्यमिक विद्यालयले भने दोस्रो दिन सकिदासम्म कुनै पनि प्रतिस्पर्धामा कुनै पनि पदक प्राप्त गर्न सकेका छैनन् । प्रतियोगिता सोमबार सम्म सञ्चालन हुने सिद्धिचरण नगरपालिकाका शिक्षा शाखा प्रमुख फडिन्द्र कटवालले जानकारी दिए ।
रुम्जाटार मावि रुम्जाटारले यसअगाडि पनि लगातार दुई वर्ष नगरपालिकाको अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको रनिङ सिल्ड ट्रफी उचालिसकेको छ । यसपटक पनि प्रतियोगिता जितेमा रनिङ सिल्ड ट्रफी पच गर्नेछ ।


