नेपाली समय Loading...२०८२ पुस २५ शुक्रबार

छोरा र आमाको नाममा ढुङ्गेलले दिए मन्दिरलाई सामग्री अक्षयकोषको पनि स्थापना 

ओखलढुङ्गान्युज, पुस २४ नर्मदेश्वर । जिल्लाको लिखु गाउँपालिका ३ नर्मदेश्वरका शंकर ढुंगेलले आज आफ्नै गाउँमा रहेको नर्मदेश्वर महादेव मन्दिरमा सञ्चालन हुने भजन मण्डलीलाई सहयोग हुनेगरी सामग्री हस्तान्तरण गरेका छन् । स्थानीय समाजसेवी ढुङ्गेलले आफ्नो छोरा उद्धव ढुंगेलको ४५ औँ दिनको पुण्यतिथिको अवसर पारेर छोरा र आमाको नाममा मन्दिरलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

ढुङ्गेलले महादेव मन्दिर परिसरमा सञ्चालन हुने भजन मण्डलीलाई सहयोग पुगोस् भन्ने उद्देश्यका साथ बाद्यवादनको केही थान सामग्री नर्मदेश्वर महादेव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरणसँगै ढुङ्गेलले आफ्नो स्वर्गीय छोरा उद्धव ढुंगेल र स्वर्गीय आमा मित्र कुमारी ढुंगेलको सम्झनामा ४५,५५५/- को अक्षयकोष समेत स्थापना गरेका छन् ।

अक्षयकोषको स्थापनाका लागि रकम हस्तान्तरण गर्दै समाजसेवी ढुंगेलले अक्षयकोषको मूल पूँजीको वार्षिक रुपमा प्राप्त हुने ब्याज बापतको रकमबाट मन्दिर संरक्षण तथा व्यवस्थापनमा सहयोग पुग्ने आफूले आशा लिएको बताए । अहिले सानो रकमको अक्षयकोष स्थापना गरेको भएपनि आफूले सकेमा भविष्यका‌ दिनमा अक्षकोषमा थप रकमको समेत व्यवस्था गर्ने ढुङ्गेलले प्रतिबद्धता जनाए । 

बाद्यवादन सामग्री तथा अक्षय कोषमा राख्ने नगद बुझ्दै नर्मदेश्वर महादेव मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष एवं लिखु गाउँपालिका वडा नम्बर ३ नर्मदेश्वरका वडा अध्यक्ष गोकर्ण श्रेष्ठले ढुङ्गेल परिवारलाई धन्यवाद व्यक्त गरे । सामग्री तथा अक्षकोषको रकम बुझ्ने एक कार्यक्रममा अध्यक्ष श्रेष्ठले स्वर्गीय उद्धव ढुंगेलको विषयमा चर्चा समेत गरेका थिए । 

समाजसेवी ढुङ्गेल तत्कालीन २०५४ सालमा भएको गाविसको निर्वाचनमा नर्मदेश्वरबाट निर्वाचित गाविस अध्यक्ष समेत हुन् । ढुङ्गेलको आमाको करिब एक वर्ष अगाडि र छोराको भने केही दिन अगाडि मात्र निधन भएको थियो । ढुङ्गेलले एक वर्षको अवधिभित्रै आफ्नी आमा र जेठो छोरोलाई गुमाउन पुगेका थिए।