भदौरेका मगर दम्पतीको विभत्स हत्या आरोपमा चार पक्राउ
ओखलढुङ्गान्युज, पुष २० ओखलढुङ्गा । चिशंखुगढी गाँउपालिका वडा नं ६ का मगर दम्पतीको विभत्स हत्या अभियोगमा ओखलढुङ्गा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले शुक्रबार दुई जना र शनिबार दुईजनालाई पक्राउ गरेको हो ।

घटना भएको घर
पक्राउ पर्नेमा चारैजना चिशंखुगढी गाँउपालिकाका पुरुषहरु रहेका छन् । पक्राउ पर्नेमा चिशंखुगढी गाँउपालिका वडा नं. ४ रातमाटाका ३० बर्षका विनोद राई, सोहि गाँउपालिका वडा नं. ३ दियालेका २८ बर्षका मिलन भनिने संगम राई रहेका छन् । यी दुवैलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । त्यस्तै अर्का पक्राउ पर्नेमा चिशंखुगढी गाँउपालिका वडा नं. ४ रातमाटेका बर्ष ३० का प्रकाश भुजेल, सोहि गाँउपालिका वडा नं ८ माम्खाका बर्ष ३० का दोर्जे भनिने अशोक भुजेल रहेका छन् । यी दुवैलाई भने प्रहरीले शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक मदन केसीले जानकारी दिए ।
चिसंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेमा गत शोमबार राती आपराधिक गिरोहको समुहले भदौरे गैरीका ६० वर्षीय सोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगरको विभत्स हत्या गरेका थिए । उक्त हत्याराको समूहले मगर दम्पतीलाइ हत्या गरेर घिसार्दै केही पर रहेको गोठमा लगेर घाँसले छोपेर राखेको अवस्थामा शब फेला परेको थियो ।
हत्याको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी ओखलढुङ्गाको टीम घटनास्थल पुगेर अनुसन्धान गरेको थियो । जिल्ला प्रहरीको टीमले मात्र अनुसन्धान गरेर अपराधीहरुलाई पक्राउ गर्न नसकेपछि तालिम प्राप्त कुकुर सहित प्रदेश प्रहरीको टीम घटनास्थलमा पुगेको थियो । कुकुर सहितको प्रहरीको अनुसन्धानको टीमलाई सघाउन काठमाडौंबाट सिआइबीको थप टीम समेत घटनास्थलमा आइपुगेको थियो ।
अनुसन्धानका लागि जिल्लामा प्रदेश र सिआइबीको टीम आइपुगेपछि बैठकका लागि जिल्ला बाहिर रहेका ओखलढुङ्गा जिल्ला प्रहरी प्रमुख केसी बैठक छाडेर जिल्ला फर्किएका थिए । जिल्ला फर्किए सँगै अनुसन्धानको कमान्ड सम्हाल्दै अनुसन्धानलाई सुक्ष्म रुपमा तिब्रता दिएका थिए । आरोपितहरु पक्राउ परेसँगै आफुहरुलाइ ठुलो सफलता हात लागेको प्रहरी प्रमुख केसीले बताए ।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेकाहरु केहि समय अगाडी सिद्धिचरण नगरपालिका वडा नं. ४ रुम्जाटार चार्खुमा भएको हत्या केसमा समेत सहभागी रहेको खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए । पक्राउ परेकाहरुसँग थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
