चिशंखुगढीको भदौरेमा एक दम्पतिको विभत्स हत्या
ओखलढुङ्गान्युज, पुष १५ ओखलढुङ्गा । जिल्लाको चिसंखुगढी गाउँपालिका वडा नम्बर ६ भदौरेमा एक मगर दम्पतिको विभत्स हत्या गरेको अवस्थामा फेला परेका छन् । मृतफेला पर्नेमा भदौरे गैरीका स्थानीय अन्दाजी ६० वर्षीय सोभितमान थापा मगर र उनकी श्रीमती रत्नमाया थापा मगर रहेका छन् ।

घटना भएको घर
मृतक दुवै दम्पतिलाई आपराधिक गिरोहले सोमबार साँझ घरमा हत्या गरेर घिसार्दै केही पर रहेको गोठमा लगेर घाँसले छोपेर राखेको अवस्थामा फेला परेका थिए । घटनाको बारेमा स्थानीयले थाहा पाएपश्चात प्रहरीलाई खबर गरिएको थियो । घटनाबारे प्रहरीलाई जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी निसंखेको टोली घटनास्थलमा पुगेको थियो ।
प्रहरी चौकीको टोली पुगेर घटनास्थललाई सुरक्षित राखेसँगै जिल्ला प्रहरीको टिम पनि घटनास्थलमा पुगेको छ । घटनास्थलको अवस्था हेर्दा मृतक दम्पतिलाई धेरैजनाको समूहले निकै क्रुरतापूर्वक हत्या गरेर केही टाढा लगेर राखेको अनुमान गरिएको छ । गाउँघरमा इमान्दारी व्यक्तिको रूपमा चिनिएका मगर दम्पतिको हत्या हुनुले गाउँमा भने त्रास सिर्जना गरेको छ ।
घटनाको थप अनुसन्धानको लागि प्रहरीको कोशी प्रदेश कार्यालयबाट कुकुर सहितको विशेषज्ञ टोलीलाई झिकाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम भट्टराईले जानकारी दिए । कुकुरसहितको विशेषज्ञको टिम आइपुग्नासाथ घटनाको थप अनुसन्धान हुने जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।


