नेपाली समय Loading...२०८२ पुस १२ शनिबार

नेकपा ओखलढुङ्गाबाट उम्मेदवारको नाम सर्वसम्मत सिफारिस 

नेकपा बैठक

ओखलढुङ्गान्युज, पुष १२ ओखलढुङ्गा । नेपाली कम्युनिस्ट पार्टी ओखलढुङ्गाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ओखलढुङ्गाबाट पाँचजनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । नेपाली कम्युनिस्ट पार्टी केन्द्रको निर्देशनअनुसार बनेको कार्यदलको शनिबार बिहान बसेको बैठकले प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारहरूको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

नेपाली कम्युनिस्ट पार्टी ओखलढुङ्गाको शुक्रबार बसेको बैठकमा प्रतिनिधि सभा सदस्य पदमा उमेदवार हुन १५ जनाले दाबी गरेका थिए । शुक्रबार साँझसम्म पनि सर्वसम्मत रुपमा निर्णय हुन नसक्दा कार्यदलले टुङ्ग्याउने गरी शुक्रबारको बैठक सकिएको थियो । शनिबार बिहान बसेको कार्यदलको बैठकले उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।

प्रत्यक्षतर्फ सिफारिस हुनेमा नेत्रप्रसाद भट्टराई, रामकुमार कार्की, मोहनकुमार खड्का, नवराज गुरुङ र जेनजीको तर्फबाट वीरेन्द्र आच्छामी मगर रहेका छन् । त्यस्तै समानुपातिक तर्फ पनि चारजनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । समानुपातिक तर्फ सिफारिस हुनेमा चम्पा कार्की, निर्मला श्रेष्ठ सीताराम गुरुङ र माबर सुनुवार रहेका छन ।

नेपाली कम्युनिष्ट पार्टीको केन्द्रले ओखलढुङ्गा जिल्लाबाट प्रत्यक्ष तर्फ ५ जना र समानुपातिक तर्फ ४ जनाको नाम पठाउन परिपत्र गरेको थियो । सोही अनुसार नेपाली कम्युनिस्ट पार्टी ओखलढुङ्गाले शनिबार प्रत्यक्षतर्फ पाँचजना र समानुपातिक तर्फ चार जनाको नाम सिफारिस गरेको हो । राष्ट्रिय सभातर्फ सपना बस्नेत टंक खत्री र उर्मिला बस्नेत राईलाई ओखलढुङ्गाबाट सिफारिस गरेको छ ।