नेपाली समय Loading...२०८२ पुस १२ शनिबार

ज्यान जोखिममा भएकी रानीवनकी सुत्केरीको हेलिकप्टरबाट उद्धार 

ओखलढुङ्गान्युज, पुष १२ रानीबन । जिल्लाको चम्पादेवी गाउँपालिकामा ज्यान जोखिममा रहेकी २० बर्षिया एक सुत्केरी महिलालाई हेलिकप्टर मार्फत उद्दार गरिएको छ । प्राथमिक स्वास्थ्य केन्द्र रानीवनमा गत मंगलबार राती सामान्य अबस्थामा बच्चा जन्माएकी चम्पादेवी गाउँपालिका वडा नं. १० रानीवनकी सुत्केरी ऋतिका विष्टलाई अत्याधिक रक्तश्राव भएपछि हेलिकप्टर मार्फत उद्दार गरिएको हो ।

सुत्केरी विष्टले दुइ बर्ष अघि पहिलो सन्तान जन्माएकी थिइन् । तर दोश्रो सन्तान जन्माउने क्रममा भने उनीलाई उच्च रक्तश्राव भएको प्राथमिक स्वास्थ्य केन्द्र रानीवनका प्रमुख मदन कार्कीले जानकारी दिए । प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख कार्कीका अनुसार विष्टलाई उच्च रक्तश्राव भएर उनको स्वास्थ्य उपचार आफुहरुको पहुँच भन्दा बाहिर गएपछि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको हो ।

विष्टलाई राष्ट्रपति महिला उत्थान कार्यक्रम: दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको लागि निशुल्क हवाइ उद्दार सेवा कार्यक्रम अन्तर्गत हेलिकप्टर मार्फत उद्दार गरि थापाथली प्रसुती गृह पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख कार्कीले जानकारी दिए । सुत्केरी महिलालाई उद्दार गर्दा प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख कार्की आफैंले प्रसुती गृह थापाथली पुर्याएका थिए । सुत्केरी विष्टको उपचार भइरहेको पारिवारिक श्रोतले जानकारी दिएको छ ।