छोराको हत्या अभियोगमा ओखलढुङ्गाकी एक महिला पक्राउ
ओखलढुङ्गान्युज, पुस ८ ओखलढुङ्गा । आफ्नै छोराको कर्तव्य ज्यान मारेको (हत्या गरेको) अभियोगमा पक्राउ परेकी ओखलढुङ्गाको एक महिलालाई जेल चलान गरिएको छ । जेल चलान हुनेमा जिल्लाको खिजिदेम्बा गाउँपालिका वडा नम्बर ९ बस्ने वर्ष ४१ कि आङपेम्बा शेर्पा रहेकी छन् ।
गत असोज २९ गते घरमा नै आफ्नै ११ वर्षीय छोराको कर्तव्य ज्यान गरी मारेको अभियोगमा शेर्पालाई प्रहरीले मंसिर १६ गते पक्राउ गरेको थियो । घरमा ११ वर्षीय बालकको मृत्यु भएपश्चात प्रहरीले शबलाई पोस्टमार्टमका लागि रुम्जाटार पठाएको थियो । शबको पोस्टमार्टम पश्चात मृतक बालकको हत्या भएको निष्कर्ष प्रहरीले निकालेको थियो ।
बालकको हत्या भएको निष्कर्षसँगै प्रहरीले अनुसन्धानलाई तीव्रता दिएको थियो । अनुसन्धानका क्रममा प्रहरीले बालककी आफ्नै आमालाई पक्राउ गरेको थियो । पक्राउ पश्चात् अनुसन्धानका क्रममा रहेकी शेर्पालाई पुस ६ गते जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि जिल्ला कारागारमा जेल चलान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सूचना अधिकारी प्रहरी निरीक्षक विक्रम बहादुर भट्टराईले जानकारी दिए ।

