चम्पादेवीमा राष्ट्रपति रनिङसिल्ड सुरु, पहिलो दिन बालज्योतिको अग्रता

ओखलढुङ्गान्युज, ७ बिलन्दु । जिल्लाको चम्पादेवी गाउँपालिकामा आजबाट चम्पादेवी गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिता २०८२ सुरु भएको छ । गाउँपालिकाको वडा नम्बर ९ बिलन्दुको डल्लीडाँडामा रहेको खेलमैदानमा आजबाट प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको पहिलो दिन आज सम्पन्न भएका प्रतिष्पर्धाहरूबाट बालज्योति मावि चित्रेले दुई स्वर्ण पदक सहित आफूलाई लिड गरेको छ । बाल ज्योतिलाई सुनकेशरी मावि रानीवनले एक स्वर्ण एक रजत र एक काश्य पदकका साथ पछ्याएको छ ।
त्यस्तै प्रतियोगिताको पहिलो दिन गोलमादेवी मावि पलापुले दुई रजत र एक काश्य, नवजीवन मावि फेदीगुठले एक स्वर्ण र दुई काश्य, ज्ञान प्रकाश मावि फुलबारीले एक स्वर्ण एक रजत प्राप्त गरेको छ । त्यस्तै जीवनज्योति मावि मिश्रभन्ज्याङले एक स्वर्ण र एक रजत, कल्पेश्वर मावि बिलन्दुले एक रजत तथा ज्ञान प्रकाश मावि घोराखोरीले दुई काश्य पदक प्राप्त गरेको छ । खेलको पहिलो दिन नवलपुर माविले भने आफ्नो पदकको खाता खोल्न सकेको छैन ।
प्रतियोगिताको पहिलो दिन ६ स्वर्ण पदकको टुङ्गो लागेको हो । आजबाट सुरुवात भएको प्रतियोगिताको पूर्व सङ्घीय सांसद रामहरी खतिवडाले समुद्घाटन गरेका हुन् । प्रतियोगितामा चम्पादेवी गाउँपालिकाका नौवटा माध्यमिक विद्यालयहरूले सहभागिता जनाएका छन् ।

