नेपाली समय Loading...२०८२ मंसिर २२ सोमबार

ओखलढुङ्गामा एमालेको भागबन्डा: पोख्रेललाई ८, वलीलाई ४

मतदानका लागि लाइनमा पालो कुर्दै एमाले कार्यकर्ता

ओखलढुङ्गान्युज, मङ्सिर २२ ओखलढुङ्गा । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि ओखलढुङ्गाबाट महाधिवेशन प्रतिनिधि छनौटमा भएको विवाद अन्ततः सहमतिमा टुंगिएको छ । सहमति भएसँगै केपी शर्मा ओली र इश्वर पोखरेल समूह गुटको पानी बाराबारको संकट तत्काललाई टरेको छ ।

बिबादका बिच भएको केन्द्रीय महाधिवेशनका लागि जिल्लाबाट प्रतिनिधि छनौट निर्वाचनमा १२ जना नै पोख्रेल गुटका प्रतिनिधि निर्वाचित भएका थिए । ओली गुटका नेताहरूले भने पत्रकार सम्मेलन गर्दै निर्वाचन प्रक्रिया गाउँपालिकाको मुकाममै हुनुपर्ने मागसहित निर्वाचन प्रक्रिया बहिष्कार गरेका थिए । 

महाधिवेशन प्रतिनिधि छनौटका लागि मतदान गर्दै एमाले कार्यकर्ता

प्रतिनिधि छनोट निर्वाचन प्रक्रियाबाटै हुने भएपछि पार्टीका गाउँपालिका इन्चार्जहरूले आआफ्नो पालिकामा नै प्रतिनिधि छनोटका लागि मतदान हुनुपर्ने मागसहित जिल्ला, प्रदेश र केन्द्रीय संगठनलाई निवेदन दिएका थिए । पालिका पार्टी अध्यक्षहरूको निवेदन उपर सुनुवाई गर्दै प्रदेश र केन्द्रीय संगठनले ओखलढुङ्गामा भएको निर्वाचन प्रक्रिया स्वीकार गर्न नसकिने भन्दै पालिकाबाटै निर्वाचन प्रक्रिया मार्फत प्रतिनिधि छनोट गरी पठाउन परिपत्र जारी गरेको थियो ।

ओली समूहले निर्वाचन प्रक्रिया बहिष्कार गरेको पत्रकार सम्मेलन

प्रदेश संगठन र केन्द्रीय संगठनले परिपत्र गरे पनि जिल्ला संगठनले भने जिल्ला पार्टीको निर्णय भन्दै पालिकामा अर्को निर्वाचन प्रक्रिया सञ्चालन गर्न नसकिने जनाएको थियो । जिल्ला पार्टीको निर्णयअनुसार भन्दै मतदान प्रक्रिया सञ्चालन गरिँदा पोखरेल गुटका नेताहरू खसेको मतको झन्डै ९० प्रतिशत मतका साथ निर्वाचित भएका थिए । 

दुई गुटको विवाद सतहमा आएपश्चात आसन्न प्रतिनिधिसभा निर्वाचन २०८२ मा पार्टीले क्षति बेहोर्नुपर्ने हुन सक्छ भन्दै केन्द्रीय संगठनबाट सहमतिको प्रयास गरिएको हो । सहमतिका लागि पार्टीको केन्द्रीय संगठन विभागले कोशी प्रदेश इन्चार्ज शेरधन राई र संगठन विभाग सदस्य विशाल भट्टराई, केन्द्रीय सदस्य यज्ञराज सुनुवार तथा किशोर अधिकारीलाई जिम्मा दिएको थियो । अन्ततः निर्वाचन प्रक्रिया सकिए पनि निर्वाचित चारजना प्रतिनिधिलाई हटाउँदै ओली गुटका चारजना सहित १२ जना महाधिवेशन प्रतिनिधि चयन भएका हुन ।

नयाँ प्रतिनिधिमा वर्तमान अध्यक्ष ओली गुटका मोहनकुमार श्रेष्ठ, अस्मिता थापा, हर्कबोल राई र सकुन्तला राजभण्डारी छनोटमा परेका छन । उता ८ जना भने पोखरेल गुटका रहेका छन् । पोखरेल गुटका आठजना प्रतिनिधिहरूमा अम्बिरबाबु गुरुङ, जीबी खड्का, कमल न्यौपाने, इच्छाकुमारी गुरुङ, राजीव कटुवाल, रमिला मगर श्रेष्ठ, टीका धमला र ज्यानु कालिकोटे रहेछन । 

निर्वाचित भएको टिमबाट अशोक थापा, केदारबाबु बस्नेत, जुना बिक र पशुपति गुरुङलाई भने हटाइएको छ । महाधिवेशन प्रतिनिधि छनौटमा सहमति भएसँगै नेकपा एमाले ओखलढुङ्गाको गुटगत राजनीतिमा निषेधको संकट तत्काललाई टरेको आकलन गरिएको छ ।